जनता टाइम्स

२८ चैत्र २०७९, मंगलवार १९:०२

विदेशीसामु सबैभन्दा बढी लम्पसार पर्ने व्यक्ति प्रचण्ड र माधव नेपाल हुन : पृथ्वीसुब्बा गुरुङ


नवलपरासी, चैत २८ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पुरानो कार्यशैलीबाट कम्युनिष्ट पार्टी अघि नबढ्ने बताउनुभएको छ ।

नेकपा एमाले देवचुली नगर कमिटी नवलपुरले मंलगबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले नियमित बैठक, भेला समेत नहुने कम्युनिष्ट पार्टी चल्न नसक्ने बताउनुभयो । पद लोलुप, महत्त्वाकाङ्क्षी र गैरकम्युनिष्ट चरित्रका नेताहरू एमाले छाडेर गएकाले अब पार्टीलाई व्यवस्थित बनाएर लैजानु पर्ने उहाँले बताउनुभयो ।

भारतले नेपालका राजनीतिक शक्तिलाई सधैँ आफ्नो नोकर बनाएर राख्न चाहेको गुरुङले बताउनुभयो । नेकपा एमाले बलियो बनेपछि भारतको सो प्रवृत्तिको विरोध जनाएको गुरुङले प्रष्ट पार्नुभयो । ‘हेपाहा प्रवृत्तिको विरुद्ध झुक्नु हुन्न भनेर हाम्रो पार्टीले प्रतिवाद गर्यो,’ गुरुङले भन्नुभयो ।

भारतले नेपाली भूमि चीनको विरुद्ध प्रयोग गर्न चाहेको गुरुङले बताउनुभयो । भारतको यस कार्यको खुलेर विरोध जनाउने पार्टी नेकपा एमाले मात्र भएको उहाँले बताउनुभयो । ‘सारा नेपालीको स्वाभिमान बोकेको एक मात्र पार्टी हाम्रो पार्टी मात्रै छ’, उहाँले भन्नुभयो ।

सारा देशी विदेशी शक्ति एक भएको बेला नेकपा एमाले चुनावमा गएको उहाँले बताउनुभयो । त्यस्तो अवस्थामा पनि नेकपा एमाले देशी विदेशी शक्तिले सोचे भन्दा धेरै बलियो पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । नेपाली जनताको मायाको कारण नेकपा एमाले पहिला दल बन्न सफल भएको उहाँले बताउनुभयो । ‘अमेरिका, भारतको मूल्याङ्कन भन्दा नेकपा एमाले धेरै माथि रहेछ’, उहाँले भन्नुभयो ।

नेकपा एमाले जनताले विश्वास गरेको पार्टी भएकोले सबैभन्दा राम्रो र बलियो पार्टी बनाउने अभियानमा एमाले लागेको उहाँले बताउनुभयो । सबै वर्ग, क्षेत्र, उमेर समूहको आकर्षणको पार्टी नेकपा एमाले बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसैको लागि एमालेको मिसन ग्रासरुट भएको उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा एमालेका समाजवादमा पुग्ने मूल पक्ष भएको उहाँले बताउनुभयो । त्यसको लागि दलाल पुँजीवादको अन्त्य गरेर राष्ट्रिय पुँजी निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा एमाले मुलुकलाई बलियो बनाउन चाहने र अन्य शक्ति देशलाई कमजोर बनाउन चाहने शक्ति भएको उहाँले बताउनुभयो । त्यसैले सबै हरुवा शक्ति एक भएर एमाले विरुद्ध लागेका उहाँको भनाइ छ ।

प्रचण्ड लगायतका आफूलाई कम्युनिष्ट भन्नेहरू विदेशीले जे भन्यो त्यही गर्ने दलालहरू भएको उहाँले बताउनुभयो । कम्युनिष्टको नाममा विदेशी सामु सबैभन्दा बढी लम्पसार पर्ने व्यक्त प्रचण्ड र माधव नेपाल भएको उहाँले ठोकुवा गर्नुभयो । माओवादी सकिने पार्टी भएको बताउँदै उहाँले सकिने बेलासम्म कति दुःख दिन्छ भन्ने कुरा चिन्ता रहेको गुरुङले बताउनुभयो ।