रास्वपा सांसद ढाकाकुमारले गरे दुर्गा प्रसाईंसँग पैसा मागेको स्विकारोक्ति, जनवरीको कुराकानी चुनावको बेला बाहिर ल्याएकोमा आपत्ति
काठमाडौं, चैत २९ । रवि लामिछाने नेतृत्वको राष्ट्रय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल ब्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको स्वीकारोक्ति गर्नुभएको छ ।
स्वास्थ्यमन्त्री बन्नका लागि पार्टी नेतृत्वलाई बुझाउनु पर्ने भन्दै २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा पर्नुभएका रास्वपाका सांसद जनवरीमा भएको कुराकानीलाई अहिले चुनावको मुखमा ल्याएर बदनाम गर्न खोजिएको भन्दै अभियोग स्वीकार गर्नुभएको हो ।
सांसद श्रेष्ठले प्रसाईंसँग भएको संवादको अडियो आफ्नै भएको स्वीकारोक्ति गर्नुभएको हो । यद्यपी उहाँले पार्टीलाई बदनाम गराउन खोजेको बताउनु भएको छ । केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको श्रेष्ठको भनाई छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अडियो अहिलेको नभएको बताउनु भयो । माघ १ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । सो सम्बन्धमा पार्टी केन्द्रीय समितिको बैठक बसिरहेको बेला श्रेष्ठले पत्रकार सम्मेलन गर्नुभएको हो ।

तीन वटा उपनिर्वाचनमा क्षेत्रमा पार्टीलाई पराजित गर्नका लागि अहिले अडियो सार्वजनिक गरिएको श्रेष्ठको दाबी थियो । ’यो अडियो केही पनि होइन, यो फसाइएको हो, सुनियोजित गरिएको हो । जनवरीमा भएको, लगभग जनवरी–फेब्रुअरीमा भएको कुराकानी अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले पार्टीलाई चारतिरबाट हान्ने प्रहार गरेको हो,’ श्रेष्ठले भन्नुभयो, ’यो पार्टीको तीनवटै निर्वाचन क्षेत्र हराउन खोजेको हो । सुनियोजित योजना हो ।’
श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको समेत बताउनु भयो । उहाँले न्यायालयबाट क्लीनचिट लिएर आउने दावी गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्