बारा, चैत ३०। आगामी १० वैशाखमा हुने बारा क्षेत्र नम्बर .२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि ह्वात्तै बढाएका छन् ।
यतिबेला टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखेतमा पुगरे मत माग्ने क्रम बढेको छ । दलहरुले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको बारा क्षेत्र नं.२ अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ ।
चौधरीका अनुसार नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले क्षेत्र नं.२ मा चुनावी प्रचारलाई तीव्र पार्दै लगेका छन । यस पटकको चुनावमा दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ ।
जनता समाजवादी पार्टीले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । यसअघि गत मंसिरमा सम्पन्न निर्वाचनमा सोही पार्टीका रामसहायप्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जित्नुभएको थियो ।
उहाँलाई उपराष्ट्रपति बनाएर उपेन्द्र यस क्षेत्रमा उम्मेदवार बन्नुभएको हो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भारी मतान्तरले पराजीत हुनुभएको थियो ।
यादव राउतसँग १८ हजार ६३ मतान्तरले पराजित हुनुभएको हो । राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९७९ मत पाउनु भएको थियो । जसरी पनि संसदमा छिर्नकै लागि उपेन्द्रले रामसहायलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचन लडने नीतिअनुसार हाल उम्मेद्वार बन्नुभएको छ ।
एमालेले पूर्व युवा तथा खेलकुद मन्त्री पूरुषोत्तम पौडेललाई मैदानमा उतारेको छ । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चाज पौडेलको यस क्षेत्रमा आफ्नै खालको क्रेज छ ।
२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई ऊर्जा दिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा आउनु भएको थियो । ओलीको आगमनपछि यहाँको माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित पटेल दाबी गर्नुहुन्छ ।
त्यसैगरी बारा क्षेत्र नम्बर ३ की सांसद ज्वालकुमारी साह, क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली र एमाले सचिव एवं मधेस प्रदेश इञ्चार्ज रघुविर महासेठ लगायतका संघीय सांसदहरु पौडेल जिताउ अभियानमा यतिबेला सक्रिय बन्नुभएको छ ।
यसैगरी नेकपा माओवादीका पूर्वनेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीबाट उम्मेदवार हुनुहुन्छ । उहाँ पनि यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । गत मंसिरको निर्वाचनमा यस क्षेत्रमा २५४ मतले रामसहायप्रसाद यादवसँग कुशवाहा पराजित हुनुभएको थियो । कुशवाह यसपटक मंसिरको हारको बदला लिन चाहनु हुन्छ । उहाँलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउतसमेत क्षेत्रमै खट्दै आउनु भएको छ ।
गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजित अरुण ज्ञवाली यसपटक प्रभु साहको आम जनता पार्टीबाट उम्मेदवार बन्नुभएको छ । उहाँको अभियानलाई स्वयंं प्रभु साहले अगुवाई गरिरहनु भएको छ ।
यस्तै राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउने प्रयाश गर्नुभएको छ । रास्वपाले पूर्वडिआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ । खरेल यसअघि मंसिर ४ को निर्वाचनमा काठमाडौं १ बाट पराजीत हुनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्