जनता टाइम्स

७ भाद्र २०७६, शनिबार १७:५०

नेता–कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुई थरी स्कूल चलाउँदै नेकपा


काठमाडौं, भदौं ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता–कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुई थरी स्कूल सञ्चालन गर्ने भएको छ । पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको पार्टी स्कूल विभागले पाठ्यक्रम बनाएर देशभरी स्कूल चलाउन लागेको हो ।

नेकपाको स्कूल विभागको कार्यभार सम्हाल्दै नवनियुक्त प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्धय देवेन्द्र पौडेल र बेदुराम भुसालले सो जानकारी दिनुभएको हो । स्कूल विभागले योजना बनाएर देशब्यापी स्कूल सन्चालन गर्ने र पार्टीमा बैचारिक जागरण ल्याउने प्रमुख पोखरेलले बताउनु भयो । पार्टीको आधिकारिक नीति र योजनाअनुसार पाठ्यक्रम बनाउने र स्कूल विभागले तलसम्म लैजाने उहाँको भनाई थियो ।

यसअघि जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा लबिङ गर्दै आउनुभएका नेता पोखरेलले स्कूल विभाग प्रमुख बनेपछि भने सो विषयमा केही बोल्नुभएको छैन । कार्यभार सम्हाल्दै प्रमुख पोखरेलले पार्टीमा बैचारिक बहस गर्न खुला भएपनि स्कूल विभागले आधिकारिक बिचारलाई मात्र बोक्ने प्रष्ट पार्नुभयो ।

स्कूल विभाग उपप्रमुख देवेन्द्र पौडेलले कार्यकर्तालाई बैचारिक रुपमा सक्षम बनाउने बताउँदै अब २० वर्ष नेकपाले जनताको मतबाटै सत्ता चलाउने घोषणा गर्नुभयो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा रहेको तत्कालिन एमालेको स्कूल विभागको कार्यालयमा आयोजित समारोहमा तात्कालिन एमालेका सो बिभागका उपप्रमुख शंकर पोखरेलले नयाँ नेतृत्वलाई स्वागत गर्नुभयो । सोही भवनमा नेकपाको स्कूल सन्चालन हुनेछ । पोखरेलले नयाँ नेतृत्वले कार्यकर्तालाई बैचारिक बनाउन अहम भुमिका खेल्नुपर्ने सुझाव पनि दिनुभयो ।