जनता टाइम्स

७ भाद्र २०७६, शनिबार १८:१८

शंकर पोखरेलको निश्कर्ष : नेकपाकै नेता–कार्यकर्ता देखियो सामाजिक सञ्जालबाहेक अरु सामाग्री नपढ्ने रोग


काठमाडौं, भदौं ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका नेता–कार्यकर्तामै अध्ययन गर्ने बानी हराएको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । नेकपाका स्कूल बिभाग प्रमुखमा नियुक्त हुनुभएका सचिवालयका सदस्य तथा कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेल, उपप्रमुख देवेन्द्र पौडेल र बेदुराम भुसालसहितका नेताहरुलाई जिम्मेवारी हस्तान्तरण गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो सो निश्कर्ष सुनाउनु भएको हो ।
तात्कालिन नेकपा एमालेका स्कूल बिभाग उपप्रमुख पोखरेलले आज बिशेष कार्यक्रम आयोजना गरी जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । साबिक एमालेको पार्टी स्कूल विभागले तयार पारेका पाठ्यक्रमसहितका सामाग्री हस्तान्तरण गर्दै पोखरेलले पछिल्लो समय कार्यकर्तामा पढ्ने संस्कार घटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेकपा कार्यकर्तामा पनि सामाजिक सञ्जालबाहेक अरु सामाग्री नपढ्ने संस्कार देखिएको उहाँको निश्कर्ष छ ।

‘नेकपाका कार्यकर्तामा पनि सामाजिक सञ्जालबाहेक अरु सामाग्री नपढ्ने संस्कार देखिएको छ, यो गम्भीर चिन्ताको बिषय हो,’ प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले भन्नुभयो । पोखरेलले पार्टी बाहिरका व्यक्तिलाई पनि नेकपाका स्कूलमा पढाउन सकिने जानकारी दिनुभयो । उहाँले नेकपा देशकै नेतृत्व गर्ने अगुवा शक्ति भएकाले पार्टीभन्दा बाहिरका इच्छुकहरुलाई पनि नेकपाको स्कूलमा पढ्ने व्यवस्था मिलाउन नयाँ नेतृत्वलाई सुझाव दिनुभयो ।

विगतमा एमालेले प्रशिक्षार्थीबाट शुल्क लिएरै स्कूल चलाएको जानकारी गराउँदै नेकपा स्थायी समिति सदस्यसमेत रहनुभएका नेता पोखरेलले नेकपा बाहिरका व्यक्ति पनि पार्टीको स्कूलमा पढ्न चाहेमा शुल्क लिएर पढाउन सकिने ब्यवस्था गर्न सुझाउनु भयो ।

उहाँले यसअघि कम्युनिस्ट पार्टीको स्कूल विभागको खासै चर्चा नभए पनि नेकपाको स्कूल विभागको प्रमुखको बन्ने भन्ने विवादको समाचारले यो विभागलाई सबैको चासोको केन्द्र बनाएको निश्कर्ष सुनाउनु भयो । विभाग चर्चित भएसँगै नयाँ नेतृत्वलाई चुनौति थपिएको उहाँको भनाइ थियो । पोखरेलले पार्टी स्कूल बिभागमा इश्वर पोखरेल, देवेन्द्र पौडेल र बेदुराम भुसाल जस्ता हस्तीहरु आएकोले अव सवैका लागि साझा स्कूल हुने आफ्नो ठम्याइ रहेको पनि सुनाउनु भयो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा नेकपा स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले स्कूल विभागको प्रमुख बन्ने विवाद मिडियामा जसरी आएपनि नेकपाको सचिवालय बैठकमा कहिल्यै विवाद नभएको प्रष्ट पार्नुभयो । उहाँले पहिलो पटक स्कूल विभागको एजेण्डा प्रवेश गरेकै दिन पार्टीले सर्वसम्मत निर्णय गरेको जानकारी दिनुभयो ।