भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता
काठमाडौं, बैशाख १ । आफ्नो गाउँ, आफ्नो ठाउँ कसलाई पो मन नपर्ला ! त्यसमाथि यस्तो गाउँ आफैमा मनमोहक छ भने सुनमा सुगन्ध भइहाल्यो । उत्तिकै चित्ताकर्षक छ भने पर्यटक आगमनका लागि स्वागतको ढोका खोलिने भइहाल्यो । यसले आन्तरिक र बाह्य पर्यटनको क्षितिज उघार्ने अवसर पनि दिने नै भयो । रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा टेवा पनि दिने यो भन्दा काइदाको कुरा के होला ? नयाँ दुलहीझैँ घुम्टोभित्र रहेका नेपालका मनै लोभ्याउने गाउँ–ठाउँलाई सबैको पहुँचमा किन नपुर्याउने त ?
हो, यही पवित्र उदेश्य बोकेर वि विल राइज फाउण्डेसन कर्मपथमा लम्किएको छ । फाउण्डेसनले ‘मेरो गाउँ, मेरो ठाउँ’ लाई मुलमन्त्र बनाउदै आएको छ । सम्भवत यही भाव बुझेर हुनसक्छ, नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालन गरिरहेको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जले धेरै गहिरो र व्यापक अर्थ राखेको बताउनु भएको छ । ओलीले सम्पूर्ण देशवासीहरुलाई यस प्रतियोगितामा सहभागी हुन आह्वान समेत गर्नुभएको छ ।
नेपाल प्राकृतिक, खनिज पदार्थ र स्रोतसाधनमा अत्यन्तै सम्पन्न छ । इतिहासको हिसाबले सभ्यता र संस्कृतिको सुरुवात भएको यो भूमि असाधारण छ

‘नेपाल प्राकृतिक, खनिज पदार्थ र स्रोतसाधनमा अत्यन्तै सम्पन्न छ । इतिहासको हिसाबले सभ्यता र संस्कृतिको सुरुवात भएको यो भूमि असाधारण छ,’ उहाँले भन्नुभयो । हाम्रो देशको ऐतिहासिकता, प्राकृतिक सम्पन्नता र सुन्दरतालाई विश्वव्यापी रूपमा परिचित गराउनका लागि अब ढिलो गर्ने छुट नभएको आशय ओलीले प्रकट गर्नुभएको छ । उहाँले उत्साही हुदैँ भन्नुभएको छ, ‘आफ्नो गाउँ चिनाऊँ, आफ्नो पहिचान बनाऔँँ भनेर वि विल राइज फाउण्डेसनले जुन अभियान चलाएको छ, यसको धेरै गहिरो अर्थ र महत्व छ ।’
एमाले अध्यक्ष ओलीले भन्नुभएको छ, ‘मैले विश्वास लिएको छु, यस अभियानले हरेकलाई आफ्नो ठाउँ चिनाउने एउटा अवसर,एउटा मञ्च पनि उपलब्ध गराएको छ । यसमा सहभागी हुन देशभरका सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु । ‘मेरो गाउँ मेरो ठाउँ’ भन्ने यो नारा एउटा अवसर हो । यसलाई सबैले सदुपयोग गरौँ ।’
त्यस्तै, नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले फाउण्डेसनले प्रतियोगिता आयोजना गरेको थाहा पाउँदा खुसी व्यक्त गर्नुभयो । ‘वास्तवमा नेपाल भौगोलिक, धार्मिक तथा सांस्कृतिक रूपमा विविधता भएको देश हो, त्यसलाई हामीले पर्यटनसँग जोड्न सक्यौं र आफ्नो गाउँ ठाउँलाई चिनाउन सक्यौँ भने यो एउटा मुलुकको समुन्नतिको जग हो भन्ने मलाई लाग्छ,’ गुरुङले अभियानमा जोडिएर आफ्नो गाउँ, ठाउँ चिनाउन अनुरोध समेत गर्नुभयो, ‘लुकेर रहेको आफ्नो गाउँ, ठाउँको पहिचानलाई बाहिर ल्याउन सक्यौं भने त्यसले पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याउने छ ।’
कांग्रेसकै नेता तथा सांसद प्रदिप पौडेल तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले पनि प्रतियोगितामा सहभागि हुन आग्रह गर्नुभएको छ । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज प्रतियोगिताको प्रवर्धनात्मक अभियानमा समाजका लब्ध प्रतिस्थित व्यक्तित्वहरू कलाकार, साहित्यकार, सञ्चारकर्मी, राजनीतिज्ञ, खेलाडी, सामाजिक अभियन्ता, नाट्यकर्मी, विभिन्न संघसंस्थाका कर्मचारीलगायतको सहभागिता रहेको छ ।
पर्वतारोहण क्षेत्रका विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्न सफल कीर्तिमानी आरोही कामी रिता शेर्पा लगायत मिङ्मा डेभिड शेर्पा, मिङ्मा शेर्पा, पेम्बा दोर्जे शेर्पा तथा तथा गिनिज वर्ल्ड रेकर्डमा करिब दुई दर्जन कीर्तिमान बनाएका थानेश्वर गुरागाईँ, हास्यव्यङ्ग्य क्षेत्रका हरिवंश आचार्य, मनोज गजुरेल, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे (माग्ने बुढा), सिताराम कट्टेल (धुर्मुस), निर्मल शर्मा र सन्दीप क्षेत्री पनि सहभागी हुनुभएको छ ।
यस्तै, कलाकारिता क्षेत्रका राजेश हमाल, करिश्मा मानन्धर, भुवन केसी, गौरी मल्ल, विजय लामा, दिलीप रायमाझी, श्वेता खड्का, केकी अधिकारी, अनमोल केसी, निर्देशक दिनेश डिसी, गायन क्षेत्रका योगेश्वर अमात्य, कर्ण दास, सुनिता दुलाल, कोमल वली, मिस नेपाल माल्भिका सुब्बा, सुगारिका केसी तथा शृङ्खला खतिवडा, विश्व साइकिल यात्री पुष्कर शाह, खेलाडीहरू राजुकाजी शाक्य, सोमपाल कामी, विक्रम लामा, एञ्जिला सुब्बा, सावित्रा भण्डारी, सरस्वती चौधरी तथा दीपक विष्ट, नाट्यकर्मी सरिता गिरी, सञ्चारकर्मी दिलभुषण पाठक, नरेन्द्र श्रेष्ठ तथा ऋषि धमला, कवि नवराज पराजुली, रमेश प्रसाईँलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
![]()
एउटै कार्यक्रमको प्रवर्धनमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू यति ठूलो संख्यामा जोडिएको यो पहिलो प्रतियोगिता हो । यस किसिमको मौलिक प्रतियोगिताले नेपालको पर्यटन प्रवर्धनमा सघाउ पुरयाउँछ । आफ्नो गाउँ–ठाउँलाई नेपालसहित विश्व भूगोलमा चिनाउन पाउँदा स्थानीयलाई अपनत्वको अनुभूती समेत गराउने छ ।
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला–संस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।
सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक रूपमा १ सय ३२ वृत्तचित्र सहभागी थिए । सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण कार्यक्रम स्थगित हुन पुग्यो ।
यसअघि सन् २०२० को भिडियो च्यालेञ्जमा सहभागी प्रतियोगीहरूले आफूले पठाइसकेको भिडियोमा परिवर्तन गर्न आवश्यक ठानेमा उक्त भिडियो सम्पादन गरी वा नयाँ भिडियो पठाउन सक्नेछन् ।
‘मेरो गाउँ, मेरो ठाउँ २०२३’ प्रतियोगितामा यसअघि सहभागी नभएका नयाँ प्रतियोगीहरूले समेत सहभागिता जनाउन सक्ने फाउण्डेसनले जनाएको छ । वृत्तचित्र अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । भिडियो पठाउने समयसिमा २१ वैशाख २०८० सम्म तोकिएको छ । विजेता प्रतियोगीहरूको घोषणा १३ जेठ २०८० का दिन काठमाडौँमा हुनेछ ।













प्रतिक्रिया दिनुहोस्