काठमाडौं, बैशाख २ । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेबाट छुट्टिएर आएपछि आफूहरु खरानी बनेको स्वीकारोक्ति गर्नुभएको छ ।
एक टेलिभिजन अन्तवार्तामा पूर्वमन्त्रीसमेत रहनुभएकी नेकपा एसकी सचिव झाँक्रीले आफ्नो पार्टीले कांग्रेसलाई ठूलो बनाउनेबाहेक अरु कुनै काम गर्न नसकेको र आगामी दिनमा पनि यही हुने बताउनु भएको हो ।
नेकपा एमाले जस्तो बिशाल कम्युनिष्ट पार्टीलाई ब्रेक गरेर हामी खरानी भएर, हाम्रो खरानीमा अरु कोही ठूलो भएको हो क्या । हामीले एमाले पार्टी ब्रेक गरेर हामी छुट्टिएर आएर हामी खरानी भयौं । एक हिसावले भन्ने हो भने हामीले एमालेलाई धक्का दियौं, क्षती गरायौं । उस्को क्षती र हाम्रो खरानीमा अरु कोही बढेको हो नि त, सचिव झाँक्रीको भनाई छ ।
यस्तै सचिव झाँक्रीले नेकपा एस चल्दै नचल्ने आफ्नो निश्कर्ष पनि सुनाउनु भएको छ । ‘हामीले ठीकै गरिराको छौं कि हामीले आफ्नो कमी कमजोरी स्वीकार गरेर जाने हो ? अहिले जे भइरहेको छ, म यस्मा पटक्कै सन्तुष्ट छैन , झाँक्रीले भन्नुभयो, यो समाजवादी पार्टी त झनै नचल्ने अवस्था छ । हामी अनुमोदन भएनौं भन्ने कुरा हामीले थाह पाइराख्नु पर्छ । थ्रेसहोल्ड पनि काटेन । जनताले अस्वीकार गरे । यो सच्चाइ हो ।’
यसअघि नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, स्थायी कमिटी सदस्य चुढामणि जंगलीसहितका नेताहरुले नेकपा एस चल्दै नचल्ने ठोकुवासहित पार्टी परित्याग गरिसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्