जनता टाइम्स

८ भाद्र २०७६, आईतवार ०७:४६

महिला नेतृत्वले उत्कृष्ट बने यी विद्यालय


प्रकाश सिलवाल र दुर्गा देवकाटा/कैलाली । ललिता शाहीले विद्यालयको नेतृत्व सम्हाल्दा भवनको नाउँमा बाँसको टहरा मात्रै थियो । भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका दृष्टिले विद्यालय निकै कमजोर थियो । अहिले त्यही विद्यालयमा ११ वटा पक्की भवन छन् । कुल ४० कक्षा कोठा र अन्य पूर्वाधार निर्माण भइसकेका छन् । उचित शैक्षिक वातावरणका कारण शिक्षक, विद्यार्थी र अभिभावक रमाएका छन् । शैक्षिक गुणस्तरमा विगतको तुलनामा सुधार आएको छ ।

शायद त्यसैले होला, गत जेठमा राजीनामा दिनुभएका कैलालीको टीकापुरस्थित जनजागृति माविकी प्रधानाध्यापक ललितालाई व्यवस्थापन समितिले विनयी शैलीमा भन्यो,‘तपाईंले जिम्मेवारी छोड्न पाउनु हुन्न । तपाईंजत्तिको इमान्दार र कर्तव्यनिष्ठ प्रधानाध्यापक पाउन हामीलाई गाह्रो पर्छ ।’ पद र जिम्मेवारी पाए जसरी पनि कुर्सीमा पुग्न लालायित हुने सामाजिक प्रवृत्तिका अगाडि आफ्नै कारणले राजीनामा दिन खोजेर पनि शाही जिम्मेवारी मुक्त हुन नपाउनुका पछाडि उहाँका केही प्राज्ञिक र व्यवस्थापकीय कुशलताले काम गरेको छ ।

ललिताले प्रअ छाडेर सेवाबाटै अवकाश लिने नभई त्यहीँका कुनै शिक्षकलाई प्रअ बनाउन र आफू शिक्षकमै कार्यरत रहन देखाएको सदाशयताको अहिले व्यवस्थापन समितिमा प्रशंसा भइरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज देवकोटा शाही भन्नुहुन्छ, ‘ललिता अनुशासित र कर्तव्यनिष्ट हुनुहुन्छ । जुन विद्यालयको प्रअ अनुशासित हुन्छ, त्यहाँ विद्यालयको प्रशासन बलियो र अनुशासित हुन्छ ।’ विसं २०६१ जेठ १५ देखि प्रअको जिम्मेवारीमा रहनुभएका नेपालीका विषय शिक्षक ललिताले आफ्नो विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सन्तोजनक रहेको र शिक्षकबीच सामूहिक भावना रहेको सुनाउनुभयो ।

शाहीले भन्नुभयो, ‘मैले जिम्मेवारी सम्हाल्दा चार महिनादेखि शिक्षकले तलव खाएका थिएनन् । चिठ्ठा कार्यक्रम खोलेर शिक्षकलाई तलव खुवाए । अहिले शिक्षकको दरबन्दी पनि पुगेको छ । शिक्षक, विद्यार्थी र अभिभावकबीच उचित समन्वय छ ।’ नौ सय विद्यार्थी रहेको सो विद्यालयमा पाँचजना स्थायी, छ जना राहत, दुई अनुदान, एक बाल विकास र अन्य कर्मचारी गरी २० जना शिक्षक÷कर्मचारी छन् । विसं २०४३ सालमा स्थापित सो विद्यालयको पछिल्लो समयमा राम्रो नतिजा आएको छ । छात्रको तुलनामा छात्राको संख्या पनि वृद्धि भएको छ । जिम्मेवारी र वातावरण पाएमा नेतृत्व तहमा महिलाले पनि नतिजा दिने गरी काम गर्न सक्छन् भन्ने यो गतिलो उदाहरण हो ।

प्रअ पद विद्यालयको प्राज्ञिक नेतृत्व हो भने व्यवस्थापन समितिको सदस्यसचिव हो । स्थानीय तहमा विद्यालय तहको जिम्मेवारी हस्तान्तरण भएपछि सामुदायिक विद्यालयहरुमा एक प्रकारको चुनौती पनि थपिएको सन्दर्भमा ललिताजस्तै ज्ञानोदय प्रावि, टीकापुर ५ नुक्लीपुरकी महिला प्रधानाध्यापक हिरन चौधरीले पनि आठ वर्षदेखि उदाहरणीय रुपमा प्रअको जिम्मेवारी बहन गर्दै आउनुभएको छ । सो विद्यालयमा साना कक्षामा विद्यार्थी संख्या कम हुन थालेपछि गत वर्षदेखि ज्ञानोदयमा अङ्ग्रेजी माध्यमबाट समेत अध्यापन शुरु गरिएको छ । ‘अंग्रेजी माध्यममा अध्यापन शुरु गरेपछि स–साना बालबालिका पनि यहीँ पढ्न थालेका छन् ।’

कैलालीको पुरानो मध्येको एक त्रिभुवन राष्ट्रिय मावि, मौरनीयामा २०६८ सालमा विद्यालय व्यवस्थापन समितिले विद्यालयमै कार्यरत उल्का बिकलाई प्रअको जिम्मेवारी दिएपछि यहाँको शैक्षिक अवस्थामा सुधार आएको छ । प्रअ बिकले भन्नुभयो, ‘सबैको सहयोग पाइयो । विद्यालयमा भौतिक पूर्वाधार, विद्यार्थी संख्या सबै सोचेजस्तै गरी बढ्यो । विशेष गरी आमाहरु छोरीका समस्या लिएर म कहाँ आउँछन् । उनीहरु शैक्षिक समस्या मात्र नभई किशोरीका समस्याबारे पनि मसँग कुरा गर्छन् । शायद पुरुष शिक्षकसँग उनीहरु खुल्न सक्दैनन् ।’

देशभर २७ हजार ९१४ सामुदायिक विद्यालयमध्ये मुस्किलले १०० सामुदायिक विद्यालयमा महिला प्रअ छन् । विद्यालय तह (कक्षा १ देखि १२) सम्ममा कुल ७३ लाख ९१ हजार ५२४ विद्यार्थीमध्ये करीव एक हजारको संख्यामा छात्रा बढी छन् । काठमाडौँमा नक्सालको नन्दी रात्री, डिल्लीबजारको पद्मकन्या, कीर्तिपुरको जनसेवा, मध्यबानेश्वरको रत्नराज्यलक्ष्मीलगायत माविमा पनि हाल महिला प्रअले तुलनात्मकरुपमा राम्रो गरेका छन् । मुलुकभरका ३६ हजार ५६८ प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) मा भने सबै महिला सहजकर्ता छन् ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ ले शिक्षण सेवामा अपाङ्गता भएका, महिला, दलित र जनजातिको प्रवेशलाई प्रोत्साहन दिन र सशक्तीकरणको कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ । प्रतिवेदनले ‘हाल १६ प्रतिशतमा रहेको महिला शिक्षकको संख्यालाई आगामी दश वर्षमा दोब्बर बनाएर ३३ प्रतिशत पुर्याउने र विद्यालयको नेतृत्वमा महिलाको उपस्थिति सुनिश्चित गर्न कानूनमा नीतिगत व्यवस्था गर्ने’ भनिएको छ । सो प्रतिवेदनलाई राष्ट्रिय शिक्षा नीतिका रुपमा कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ ।

सामुदायिक विद्यालय राष्ट्रिय महासंघका अध्यक्ष कृष्ण थापाले महिला प्रअहरुले आफ्नो जिम्मेवारी पुरुष प्रअको तुलनामा कुशलतापूर्वक निर्वाह गरेको अनुभव सुनाउनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘महिला प्रअहरु खुराफाती जान्दैनन् । प्रशासनमा उनीहरुको इमानदारिता देखिन्छ ।’ शिक्षा तथा समन्वय इकाई, कैलालीका प्रमुख प्रताप धामीले महिला शिक्षकले पुरुषको तुलनामा सिकाइ उपलब्धिमा उदाहरणीय कार्य गरेर देखाएको बताउनुभयो । पुरुष प्रअ रहेको टीकापुरको जनज्योति आधारभूत विद्यालय, ज्योतिनगर र कालिका आधारभूत विद्यालय राजीपुरको सिकाइ उपलब्धि वर्षेनी खस्केपछि नयाँ प्रअ नियुक्तिको प्रक्रिया शुरु भएको छ ।

इकाईका अनुसार जिल्लामा जम्मा ५६५ विद्यालय छन् जसमा ७२ वटा विद्यालय मात्र महिलाले नेतृत्व गरेका छन् । जिल्लामा ४९३ विद्यालयमा पुरुष प्रधानाध्यापक छन् भने ७२ विद्यालयमा महिला प्रअ छन् । त्यसमा पनि मावि तहका प्रधानाध्यापक महिला ५ जना मात्र छन् । निमावि तहका विद्यालयको प्रअमा ९ जना र प्रावि तहका ५८ विद्यालयमा महिला प्रअ छन् ।

टीकापुर नगरपालिकाका शिक्षा प्रमुख दमनसिंह चौधरी महिलाले सञ्चालन गरेका विद्यालयमा अनुशासन देखिने गरेको बताउनुहुन्छ । ‘हामी अनुगमनमा गइरहन्छौं, महिला प्रअहरु धेरै अनुशासित छन,’ चौधरी भन्नुहुन्छ, ‘स्रोतसाधनको कमी छ । महिलाहरु काम ठग्दैनन् । आफू पूरा समय विद्यालयलाई दिन्छन् । अन्य शिक्षक आफै सजग बन्छन् ।’ स्थानीय अभिभावक तर्कराज रेग्मीले राम्रो काम गर्ने पुरुष शिक्षकलाई पनि प्रोत्साहन हुनुपर्ने भन्दै जिल्लामा महिला शिक्षकले देखाएको कर्तव्यपरायणताबाट आफू प्रभावित भएको बताउनुभयो ।