जनता टाइम्स

३ बैशाख २०८०, आईतवार १०:२६

कांग्रेसलाई भोट माग्दै राष्ट्रपतिको फोन


काठमाडौं, बैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्दै शीतलनिवासमै भेटघाट र टेलिफोन गर्नुभएको तथ्य खुलेको छ ।

आफू निर्वाचित तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराईलाई मत माग्दै राष्ट्रपति पौडेलले भेटघाट र टेलिफोन गर्नुभएको पाइएको हो ।पौडेल राष्ट्रपति निर्वाचित हुनुभएपछि रिक्त तनहुँ क्षेत्र नम्बर १ मा यही बैशाख १० गते उपनिर्वाचन हुँदैछ । सो निर्वाचनमा नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेस छाडेर प्रवेश गर्नुभएका डा. स्वर्णिम वाग्लेसहितका उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

तनहुँ कांग्रेसका एक नेताले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारी अनुसार राष्ट्रपति पौडेलले नियमित रुपमा फोन गरेर कांग्रेस उम्मेदवारको पक्षमा मत माग्न थाल्नुभएको छ । ‘म राष्ट्रपति छु, मेरै निर्वाचन क्षेत्रमा कांग्रेस हार्यो भने बर्वाद हुन्छ भन्दै राष्ट्रपतिले भोट माग्नुभएको छ,’ ती नेताले जनताटाइम्स डटकमसँग भने । राष्ट्रपति पौडेलले अहिलेसम्म सो निर्वाचन क्षेत्रका प्रभावशाली मानिने अधिकांश ब्यक्तिहरुलाई फोन गर्नुभएको र नियमित फलो गरिरहेको स्रोतको भनाई छ ।

तनहुँ १ मा अहिले कांग्रेस तेस्रो स्थानमा रहेको छ । जित्नका लागि एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच टक्कर देखिएको छ । यही कारण पौडेल आफू राष्ट्रप्रमुख भएको बेला आफ्नै निर्वाचन क्षेत्रमा कांग्रेसले हार्न नहुने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा भन्दा पनि सक्रिय भएर लाग्नुभएको छ ।

तीनवटै उपनिर्वाचनमा स्वयं देउवा भने जस्ले जिते पनि केही फरक पर्दैन भन्दै चुनावी अभियानमा समेत सहभागी हुनुभएको छैन । कांग्रेस सभापति देउवा भन्दा अघि बढेर राष्ट्रपति पौडेल कांग्रेसको पक्षमा भोट माग्दै फोन सम्पर्क र शीतलनिवासमै भेटघाट गरी चुनावी कमाण्डर बन्नुभएको हो ।