जनता टाइम्स

८ भाद्र २०७६, आईतवार ०९:२२

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै, यसरी गरिदैछ सिंगापुरमा उपचार


काठमाडौं, भदौ ८ । सिंगापुरमा स्वास्थ्यउपचार गराईरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुदै गएको छ । उहालाई सात पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । उहाको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो ।

उहालाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको अस्पताल स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीलाई पहिलो पटक गत शुक्रबार प्लाज्मा फेरेसिस गरिएको छ । यही अवस्था रहने हो भने उहाको सिंगापुर बसाई केही दिन अझै लम्बिन सक्ने बताइएको छ । चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार बिधि प्रयोग गरिन्छ ।

चिकित्सका अनुसार शुरुमा यो तीन पटक गरिन्छ । मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा तीन पटकका लागि प्रयोग गरिन्छ । शुरुमा तीन पटक गरिने यो विधिबाट थप सुधार नभए अझै तीन पटक गर्ने गरिन्छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रगतमा ‘क्रिएटिनिन’ को मात्रा २ मिलिग्राम पुगेको छ । रगतमा क्रिएटिनिनको मात्रा सामान्यता पुरुषमा ०.६ मिलिग्रामदेखि १.२ मिलिग्रामसम्म हुन्छ । मिर्गौला कमजोर भएपछि त्रिएटिनिनको मात्रा बढ्ने गर्छ । त्रिएटिनिन जति बढ्यो मिर्गौलाको कार्यक्षमतामा त्यति नै ह्रास हुने चिकित्सकको भनाई छ । डा. काफ्लेका अनुसार ६० वर्ष नाघेपछि मानिसको रगतमा त्रिएटिनिनको मात्रा बढ्दै जान्छ ।