जनता टाइम्स

४ बैशाख २०८०, सोमबार १२:५४

बालकोट बैठकमा जुट्यो तीन दलबीच यस्तो सहमति


काठमाडौं, बैशाख ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको तीन दलको बैठकमा संबैधानिक परिषदको बैठक बस्ने सहमति भएको छ । तीन दलका शीर्ष तहको बैठकमा नेकपा एमालेले टीआरसी विधेयक टुंग्याउन शर्त राखेपछि संबैधानिक परिषदको बैठक बस्ने सहमति भएको हो।

एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको तीन दलको शीर्ष तहको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा आफूहरूले अडान राखेपछि संवैधानिक परिषद्को बैठक राख्ने सहमति भएको प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो ।

‘१५ महिनादेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ। त्यो विषयमा सरकारले ध्यान दिनुपर्छ । अब यही बैठकको सहमतिअनुसार प्रधानमन्त्री अघि बढ्नुहुन्छ भन्ने विश्वास छ,’ बर्ताैलाले भन्नुभयो । संसद सबैको भएकाले टीआरसी, विषयगत समितिलगायतको विषममा सहमतिमा अगाडि बढ्नुपर्नेमा बर्तौलाले जोड दिए ।

एमालेले अन्य दुई सर्त पनि राखेको छ । ‘सरकार उहाँहरूले जसरी आफ्नो बहुमतको आधारमा चलाउनुभएको छ । त्यो अलग कुरा हो । तर, सबैको हो । त्यसमा विषयगत समिति टुंग्याएर अघि बढ्नुपर्छ । एमालेले संसदमा प्राप्त गरेको हैसियतअनुसार विषयगत समितिमा भूमिका पाउनुपर्छ भन्ने कुरा राखेका छौं,’ बर्ताैलाले भन्नुभयो ।

संविधान कार्यान्वयको विषयमा शीर्ष तहमा सहमति बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । एमाले देश निर्माण, संविधान कार्यान्वयन र कानून निर्माणमा साथ दिने बर्तौलाको भनाई छ । न्याय निरुपणको विषयमा अन्तर्राष्ट्रिय जगतले पछि कुनै प्रश्न नउठाओस् भन्ने कुरामा एमाले सचेत रहेको भन्दै उनले टीआरसी विधेयकलाई विषयगत समितिमा लगेर टुंग्याउनुपर्ने बताउनु भयो । बालकोट बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।