जनता टाइम्स

५ बैशाख २०८०, मंगलवार १८:०२

भानुभक्त–रचनाको मेहनतको परिणाम : सकियो एमालेका २३ वटै जनसंगठनको महाधिवेशन (सूचीसहित)


काठमाडौं, बैशाख ५ । नेकपा एमालेको सवै जनसंगठनहरुको महाधिवेशन/राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । जनसंगठन समन्वय संयन्त्रका संयोजक एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले चैत मसान्तभित्र महाधिवेशन सक्नुपर्ने बाध्यात्मक निर्णय सुनाउनु भएपछि बाँकी रहेका सवै जनसंगठनले आफ्नो महाधिवेशन सम्पन्न गरेका हुन ।

नेकपा एमालेको जनसंगठनमध्ये सवैभन्दा पहिला महाधिवेशन गर्नेमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन परेको छ । सो संगठनले २०७८ फागुन १४ गते आफ्नो अभिवेशन गरी भोजराज आचार्यलाई अध्यक्ष चयन गरेको हो ।

यस्तै मानवअघिकार एलाइन्स दोस्रो र प्रेस चौतारी नेपाल तेस्रो बनेको छ । एलाइन्सको महाधिवेशन २०७८ फागुन २३ गते पोखरामा सुरु भएको एलाइन्सको अधिवेशनबाट मीनबहादुर शाही अध्यक्ष चयन हुनुभएको थियो । महाधिवेशन गर्ने अन्तिम संगठन भने अखिल नेपाल किसान महासंघ बनेको छ । महासंघको झापामा चैत ३० गते सुरु भएको सातौं महासम्मेलनले डा. प्रेम दंगालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

मानवअधिकार एलाइन्सपछि प्रेस चौतारी नेपालले २०७८ फागुन २७ देखि २९ गतेसम्म पोखरामै आफ्नो ९औं महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशनबाट अध्यक्ष गणेश बस्नेत पुनः अध्यक्ष चयन हुनुभयो । अघिल्लो बर्ष ९ वटा जनसंगठनले मात्र महाधिवेशन गरेकोमा यस बर्षको फागुन र चैतमा सवै जनसंगठनले महाधिवेशन सम्पन्न गरेका हुन । यस बर्ष सवैभन्दा पहिला अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले आफ्नो महाधिवेशन सम्पन्न गरेका हो ।

फागुन पहिलो साता काठमाडौंमा सम्पन्न महाधिवेशनले चुनावमार्फत समिक बडाललाई अध्यक्ष चयन गरेको छ । एमालेका जनसंगठनमध्ये अनेरास्वबियुमा मात्रै निर्वाचनमार्फत नेतृत्व चयन भएको हो । अन्य संगठनमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

जनसंगठन समन्वय संयन्त्रका सहसंयोजक रचना खडकाले अव एमालेमा सवै जनसंगठनको महाधिवेशन सकिएको बताउनु भयो । ‘यो निकै महत्वपूर्ण काम भएको छ, सवै जनसंगठनले महाधिवेशनमार्फत आफ्नो नेतृत्व चयन गरेका हुन,’ खडकाले जनताटाइम्स डटकमसँग भन्नुभयो ।

जनसंगठनहरुमा लामो समयदेखि महाधिवेशन नभएको पाइएपछि संयोजक ढकालले धुलिखेलमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरुलाई आमन्त्रण गरेर कार्यशालामार्फत २०७९ चैत मसान्तभित्र महाधिवेशन गर्नैपर्ने निर्णय लिनुभएको थियो । सोही निर्णयअनुसार सवै जनसंगठनले आफ्नो महाधिवेशन सकाएका हुन ।

यी हुन जनसंगठनका अध्यक्ष

अखिल नेपाल किसान महासंघ : डा. प्रेम दंगाल
अखिल नेपाल महिला संघ : टुका हमाल
प्रेस चौतारी नेपाल : गणेश बस्नेत
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन : समिक बडाल
राष्ट्रिय अपाङ्गता संगठन नेपाल : मित्रलाल शर्मा
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल : पासाङ शेर्पा
नेपाल उत्पीडित जातीय मुक्ति समाज : मनोहर बिश्वकर्मा
नेपाल उद्योग व्यवसाय महासंघ : एलपी सावा लिम्बु
नेपाल खेलकुद महासंघ : पर्शुराम बस्नेत
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) : बिनोद श्रेष्ठ
नेपाल बुद्धिजीवी परिषद् : डा. दिनेशचन्द्र देवकोटा
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल : शान्ता चौधरी
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन : बिनोद पाण्डे
पेशागत महासंघ, नेपाल : पुण्यप्रसाद ढकाल
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन : भोजराज आचार्य
प्रगतिशील इन्जिनियर्स एसोसिएसन : डा. सुरज लामिछाने
राष्ट्रिय जनसाँस्कृतिक महासंघ : प्रेमनाथ अधिकारी
मानवअधिकार तथा सामाजिक न्याय मञ्च : मीनबहादुर शाही
राष्ट्रिय युवा संघ, नेपाल : क्षितिज थेवे
नेपाल मुस्लिम इत्तेहाद संगठन : सिरज फारुकी
रिटर्नी फेडरेसन नेपाल : उत्तम अधिकारी
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल : डा. झलक गौतम
अखिल नेपाल पिछडाबर्ग (ओबिसी) महासंघ : तेजप्रसाद निसाद