जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १४:२६

सिंगापुरमा प्लाज्मा फेरेसिस बिधिबाट प्रधानमन्त्रीको उपचार सुरु : यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था


काठमाडौं, भदौं ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ को बिधिबाट उपचार सुरु भएको छ । स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि त्यहाँस्थित नेसलन युनिभर्सिटी हस्पिटलमा शरीरमा रहेको रगत फिल्टर गर्ने काम ‘प्लाज्मा फेरेसिस’ को उपचार सुरू गरिएको गरिएको उहाँका निजी चिकित्सक प्राडा. दिब्या सिंहलाई उधृत गर्दै प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ ।

प्रमुख सल्लाहकार रिमाल पनि प्रधानमन्त्रीको उपचारको आवश्यक ब्यवस्था मिलाउन सिंगापुर नै हुनुहुन्छ । चिकित्सक सिंहकै भनाई उधृत गर्दै रिमालले ट्वीटमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि गराउनु भएको छ । ‘यो उपचार प्रकृया अरू केही पटक गरिनेछ, उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ,’ रिमालले ट्वीटमा लेख्नुभएको छ । प्रधानमन्त्री ओलीको साथमा उपचारका लागि सघाउन पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार रिमाल, निजी चिकित्सक सिंह, स्वकीय सचिव राजेश बज्राचार्य सिंगापुर जानुभएको छ ।

प्रधानमन्त्रीको निजी चिकित्सक डा. सिंहले सिंगापुर उडनुअघि नै प्रधानमन्त्री ओलीको मिर्गौलाको क्षमता बढाउने उपचार गराउन सिंगापुर जान लागेको जानकारी गराउनु भएको थियो । ‘मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो, एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि त्यसतर्फ जान लाग्नुभएको हो,’ प्रेस नोट नै जारी गरी प्रधानमन्त्रीका निजी चिकित्सक सिंहले भन्नुभएको थियो ।

उहाँले प्रधानमन्त्रीको उपचार प्रक्रिया र स्वास्थ्यको बिषयमा जानकारी गराउने प्रतिवद्धता पनि सोही प्रेस नोटमा गराउनु भएको थियो । उहाँका अनुसार नेसनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गरिरहेका छन । उपचार शुक्रवारबाटै सुरु भएको हो ।

के हो प्लाज्मा फेरेसिस ?

रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा हुन्छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञका अनुसार रगतमा ६० प्रतिशत हिस्सा प्लाज्माको हुन्छ । रगतमा रहेको पहेँलो तरल पदार्थ प्लाज्माले नै शरीरका अरु भागमा रगतलाई प्रबाह गराउँछ । रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई रिप्लेस गर्ने (फेर्ने) विधिलाई नै प्लाज्मा फेरेसिस भनिन्छ ।

चिकित्सकहरुका अनुसार ‘प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा ह्युमन हल्बुमिनले रिप्लेस गर्नुपर्ने हुन्छ । यो उपचार कम्तिमा तीनदेखि चारपटक गर्नुपर्ने जानकारी सिंहले गराउनु भएको छ । प्रधानमन्त्री ओलीलाई गरिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ । दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ र त्यसपछि उक्त रगत पुनः शरीरमा चढाइन्छ । मृगौलाकै परीक्षणका लागि प्रधानमन्त्री ओली यसअघि गत साउन १८ गते सिंगापुर जानुभएको थियो ।

सोही अस्पतालमा परीक्षण गराई साउन २७ मा स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीलाई चिकित्सकले प्लाज्मा फेरेसिस बिधिबाट उपचार गर्नुपर्ने बताएपति बिहीवार पुनः सिंगापुर जानुभएको हो । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनु भएको छ ।