जनता टाइम्स

७ बैशाख २०८०, बिहीबार १४:४१

तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा : कुन निर्वाचन क्षेत्रमा को–को छन मुख्य प्रतिस्पर्धी ?


बारा २, चितवन २ र तनहुँ १ मा नेकपा एमालेकै उम्मेदवार मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन । सत्ता गठबन्धनका उम्मेदवारहरु प्रतिस्पर्धी समेत नहुने अवस्था देखिएको छ 

काठमाडौं, बैशाख ७ । बैशाख १० गते हुन गइरहेको तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनको प्रचार प्रसारको कामलाई राजनीतिक दल र उम्मेदवारहरुले निकै तीब्रता दिएका छन । चुनावी प्रचार प्रशारको अन्तिम दिन आइपुग्दा तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले मतदातालाई प्रभावित पार्न बिभिन्न योजना र प्रतिवद्धता जनाइरहेका छन ।

बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र नागरिकता नै नलिई उम्मेदवार बनेर जित्नुभएका रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारी सर्वाेच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

यी तीनवटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दल नेकपा माओवादी केन्द्र र माधव नेपालको दल नेकपा एकीकृत समाजवादीले उम्मेदवार उठाउन सकेको छैन । आफ्नो उम्मेदवार नपाएपछि दुवै दलले बारामा सत्ता गठबन्धनका नेता तथा मंसिर ४ को निर्वाचनमा सप्तरीमा डा. सिके राउतसँग दोब्बर मतले पराजीत जसपाका उपेन्द्र यादव र चितवन तथा तनहुँमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ ।

कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठ र तहनुँ १ मा गोबिन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनमै रहेको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले बारामा रमेश खरेल, चितवनमा रवि लामिछाने र तनहुँमा डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । सरकारलाई समर्थन गरेको रास्वपा चुनावलगत्तै सरकारमा जान लालायित बनेको छ । सत्तामै बसेर आफ्नो गैरकानूनी कामलाई फत्तै गर्ने रणनीति लिएको सो दलले मतदातामाझ भने आफूहरु एकातिर बाँकी सवै दल अर्काेतिर भन्दै अफवाह फेलाउन ब्यस्त देखिएको छ ।

यता सत्ता गठबन्धनसँग एक्लै भिडेको नेकपा एमालेले तनहुँ–१ मा पूर्वआइजीपी सर्वेन्द्र खनाल, चितवन २ मा जिल्ला अध्यक्ष युवा नेता रामप्रसाद न्यौपाने र बारा २ मा पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । तीनै जना उम्मेदवार सोही जिल्लाका स्थायी बासिन्दा हुनुहुन्छ । चुनावी प्रचार प्रसारको अन्तिम दिनसम्म आइपुग्दा कडा टक्करको अवस्था देखिएको छ ।

बारामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुसवाह र नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । दुई उम्मेदवारबीचको मुख्य प्रतिस्पर्धा रहेको अवस्थामा सत्ता गठबन्धनका उपेन्द्र यादव र रास्वपाका रमेश खरेलबीच तेस्रो हुने प्रतिस्पर्धा चलिरहेको छ । अहिलेसम्मको अवस्था हेर्दा उपेन्द्र यादव पराजीत हुने देखिएको छ भने कुसवाह र पौडेलले मौन अवधीमा गर्ने मेहनतले परिणाममा तलमाथि हुने देखिएको छ ।

यस्तै चितवन २ मा पनि रास्वपाका सभापति रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपानेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो दुई दिनमा एमाले उम्मेदवार न्यौपानेको पक्षमा मतदाता आकर्षित देखिएका छन । मंसिर ४ को निर्वाचनमा भारी मतान्तरले जित्नुभएका रवि लामिछाने उपनिर्वाचन पनि जित्नेमा ढुक्क भए पनि तटस्थ रहेका मतदाता र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा आवद्ध मतदाताले न्यौपानेलाई मत दिएको अवस्थामा परिणाम उल्टिने देखिएको छ । यसैका लागि एमाले नेता–कार्यकर्तादेखि उम्मेदवार न्यौपानेले आफ्नो मेहनत गरिरहेको देखिएको छ ।

मंसिर ४ को निर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले जित्नुभएको तनहुँ १ पनि रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालबीच नैप्रतिस्पर्धा देखिएको छ । सो निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार गोबिन्द भट्टराई तेस्रो स्थानमा देखिनुभएको छ । दिनभर कांग्रेसको जुलुसमा सहभागी हुने तर भोट चाँहि स्वर्णिम वाग्लेलाई माग्ने गरेको कारण कांग्रेस दिनदिनै कमजोर बनेको हो । एमालेले आफ्नो मत जोगाउन सकेको अवस्थामा खनालको जीत हुने देखिएको छ ।