काठमाडौं, बैशाख ८ । काठमाडौं महानगरपालिकाका मेयर कालेन्द्र शाह (बालेन) लाई सर्वाेच्च अदालतले कानून र सीमा सम्झाउँदै तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको हो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न आदेश दिएको हो ।
मेयर शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि दुर्गन्ध फैलिएको छ । अदालतले सर्वसाधरणको स्वास्थ्यमै गम्भीर असर पर्ने काम नगर्न पनि भनेको छ ।
’फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३(१), ३(२) र दफा ४ ले फोहोरमैलाको प्रबन्ध गर्ने, संकलन गर्ने, अन्तिम विसर्जन गर्ने, व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहको हुनेछ भन्ने स्पष्ट कानुनी व्यवस्था गरेको देखिन्छ । यसैगरी नेपालको संविधानको धारा २१४ (१), धारा २१४(२) र अनुसूची ८ मा भएको संवैधानिक प्रावधानलाई समग्रमा अध्ययन गर्दा सरसफाइ गर्नुपर्ने अधिकार स्थानीय तहलाई सुम्पेको देखिन्छ । उल्लिखित संवैधानिक र कानुनी व्यवस्थाअनुसार निवेदकले उल्लेख गरेको क्षेत्रको फोहरहरु संकलन गरी उठाई विसर्जन गर्नुपर्ने दायित्व स्थानीय तहलाई सुम्पेको देखिँदा स्थानीय तहको हैसियतमा सो दायित्व काठमाडौं महानगरपालिकाको देखिन आयो,’ आदेशमा भनिएको छ, ’रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’
अदालतको यो आदेशसँगै आगामी दिनमा सनकको भरमा सर्वसाधरणमाथि खेलवाड गर्ने काम नगर्न पनि मेयरलाई सन्देश मिलेको छ ।














प्रतिक्रिया दिनुहोस्