जनता टाइम्स

१० बैशाख २०८०, आईतवार ०६:०२

सर्वदलीय बैठकका नाममा गरिएका कानुन विपरीत निर्णय खारेज गर्न निर्वाचन आयोगको निर्देशन


काठमाडौं, बैशाख १० । सर्वदलीय बैठकका नाममा कानुन विपरीत गरिएका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। उपनिर्वाचन हुने क्षेत्रमा कानुन विपरीत विभिन्न निर्णय गरेकाले खारेज गर्न निर्देशन दिएको हो।

आयोगले विज्ञप्ति जारी गर्दै बारा निर्वाचन क्षेत्र नम्बर २ को देवताल गाउँपालिका-२ स्थित सिँचाइ अफिस कल्याणपुर मतदान स्थलको मतदान केन्द्र ‘क’ र ‘ख’ मा मतदान अधिकृत सहितको सर्वदलीय/सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताका नाममा प्रचलित कानुन विपरीत हुने गरी अन्यले मतदान गर्न सक्ने र उम्मेदवारका मतदान प्रतिनिधि छनौट गर्ने लगायतको निर्णय गरेकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) (पहिलो संशोधन) निर्देशिका, २०७९ को दफा ११ मा मतदान अधिकृतको काम, कर्तव्य र अधिकार, दफा २१ मा मतदान केन्द्रमा पुगेपछि सर्वदलीय बैठक राख्ने, दफा ३९ मा मतदान गर्ने समय, दफा ५० मा मतदान गर्दा प्राथमिकता दिने र दफा ५२ मा अशक्त मतदातालाई सहायता गर्ने विषयका सम्बन्धमा स्पष्ट व्यवस्था छ। यसर्थ, निर्वाचन सम्बन्धी प्रचलित कानून, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशन विपरीतका यस्ता निर्णयहरू बदर गरी प्रचलित कानून बमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने गराउने व्यवस्था हुन मुख्य निर्वाचन अधिकृत मार्फत सबै मतदान अधिकृतहरूलाई आयोग निर्देशन गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

‘प्रचलित निर्वाचन कानून, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशन विपरीत निर्णय गर्ने माथि उच्च निगरानीमा राखी कानून बमोजिम कारवाही गर्ने व्यवस्था हुन समेत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।