जनता टाइम्स

११ बैशाख २०८०, सोमबार ०८:२१

तनहुँ-१ मा २० प्रतिशत मत गन्दा रास्वपाका स्वर्णिम दोब्बरभन्दा बढी मतले अगाडि, कसले कति पाए ?


तनहुँ, बैशाख ११ । तनहुँ १ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। आज बिहान साढे सात बजेसम्म २० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। कुल ६३ हजार ७ सय ५७ मत खसेको तनहुँमा अहिलेसम्म १३ हजार ६५ मत गणना भएको छ।

प्राप्त पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राख्नुभएको छ । वाग्लेले ७२ सय ९३ मतका साथ प्रतिस्पर्धी उम्मेदवारलाई दोब्बर भन्दा बढी मतले पछाडि पार्नुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३२ सय ३४ मत ल्याएर पछ्याइरहनु भएको छ भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा हुनुहुन्छ । खनालले २१ सय ३४ मत पाउनु भएको छ । हालसम्म ८ वडाको अन्तिम मतपरिणाम आएको छ। आँबुखैरेनी–१, आँबुखैरेनी–२, आबुखैरेनी ३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु ४ को मतगणना सकिएको छ।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत पाउनु भएको छ । यस्तै आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत पाउनु भएको छ ।

भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत पाउनुभएको छ । यसैगरी भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत पाउनु भएको छ ।

भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत पाउनु भएको छ । भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत पाउनु भएको छ । यसैगरी भानु ४ मा १६७५ मत खसेको थियो। त्यहाँ रास्वपाका वाग्लले ७५९, कांग्रेसका भट्टराईले ४८२ र एमालेका खनालले ३९४ मत पाउनु भएको छ ।

आँबुखैरेनी ३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत पाउनु भएको छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो।