जनता टाइम्स

९ भाद्र २०७६, सोमबार ११:३७

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक सुरु : एकतालाई पुर्णता दिने एक मात्रै एजेण्डा


काठमाडौं, भदौं ९ । पार्टी एकतालाई पुर्णता दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक शुरु भएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएपछि सचिवालयको निर्णयअनुसार अध्यक्ष प्रचण्डले आजको बैठक बोलाउनु भएको थियो । बैठकमा पार्टी एकताको बाँकी कामलाई पुर्णता दिने एजेण्डा राखिएको छ । आफ्नो स्वास्थ्य उपचारको कारण पार्टी काममा अवरोध नहोस भन्ने मनसायसहित अध्यक्ष ओलीले आफू उपचारमा सिंगापुर रहेको बेला अध्यक्ष प्रचण्डले बैठक बोलाएर एकताको बाँकी कामलाई टुंग्याउन अघिल्लो सचिवालय बैठकमा प्रस्ताव गर्नुभएको थियो ।

उहाँको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेपछि प्रचण्डले आज बैठक बोलाउनु भएको हो । २०७५ जेठ ३ गते पार्टी एकता भएपनि अहिलेसम्म नेकपाको सम्पुर्ण तहको एकताको काम सकिएको छैन । पछिल्लो समय एकताको कामलाई प्राथमिकताका साथ टुंग्याउने रणनीतिका साथ नेकपाले नेताहरुको कार्यबिभाजनदेखि जनसंगठनसम्मको इञ्चार्ज–सहइञ्चार्ज र संयोजक–सहसंयोजक तोकिसकेको छ ।

आजको बैठकमा केन्द्रीय आयोग, बिभागका सदस्यहरु, महानगर कमिटी–प्रवास कमिटीको टुंगो लगाउने एजेण्डा रहेको छ । सचिवालयका एक सदस्यले जनताटाइम्सलाई दिएको जानकारी अनुसार आजको बैठकमा ६ ओटै महानगर कमिटीको अध्यक्ष–सचिव, प्रवास कमिटी र आयोग र जिम्मेवारी दिन बाँकी रहेका केन्द्रीय सदस्यहरूको कार्यबिभाजनसमेत गर्ने एजेण्डा तय गरिएको छ । आजको बैठकले एकतालाई पुर्णता दिएको अवस्थामा नेकपाले देशभर अभियान थाल्ने योजनासमेत अघि सार्ने बताइएको छ ।

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले पार्टी बैठक बोलाएर सहमतिका साथ एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि अध्यक्ष प्रचण्डले आज बैठक बोलाउनु भएको हो । बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले असन्तुष्ट नेता माधवकुमार नेपालसहित सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको छ ।

आज पनि अध्यक्ष प्रचण्डले बैठकको बिषयमा उपाध्यक्षमा प्रस्तावित बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग पार्टी कार्यालय धुम्बाराहीमै केहीबेर छलफल गर्नुभएको छ । आजको बैठकबाट एकतालाई पुर्णता दिने योजनामा रहनुभएका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँगसमेत परामर्श गर्नुभएको छ । नेकपामा पार्टी एकता भएपछि पहिलो पटक एक जना अध्यक्ष मात्रै रहेको बेला सचिवालय बैठक बस्न लागेको यो पहिलो पटक हो ।

यसअघिको बैठकमा दुवै अध्यक्ष रहने र अध्यक्षता ओलीले गर्दै आउनुभएको थियो । पहिलो पटक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेसँगै ओलीले पार्टीको कार्यकारी जिम्मेवारी अध्यक्ष प्रचण्डमा सार्न चाहेको प्रष्ट देखिएको छ । सोहीअनुसार आजको बैठकमा सवैको सहमतिका आधारमा निर्णय लिने गरी अध्यक्ष प्रचण्डले गृहकार्य गर्नुभएको छ ।