जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार १२:५०

चुँगा गाउँ दलित बस्तीका नागरिक ४७ वर्षदेखि ‘नजरबन्द’मा


सुर्खेत, २२ वैशाख । मुगुको छायाँनाथ रारा नगरपालिका(८ चुुगाँ गाउँका दलित समुदाय जो ४७ बर्ष देखि नजरबन्द जस्तै जिवनयार्पन गदै आएका छन् । रारा राष्ट्रिय निकुुञ्जभित्र रहेको यस गाउँका स्थानीय निकुञ्जको नीति नियम कानुनका कारण उनीहरू नजरबन्द जस्तै जीवनयापन गदै आएका हुन् ।

रारा राष्ट्रिय निकुुञ्ज स्थापाना काल अघिदेखि बसोबास गदै आएका चुुगाँ गाउँका ३० घरदुरीका दलित समुदाय निकुुञ्जको नीति नियम ,कानुनले हैरान भएको बताउँछन् । रारा राष्ट्रिय निकुुञ्जको स्थापाना २०३२ सालमा भएको हो । निकुुञ्ज स्थापनापछि रारा राष्ट्रिय निकुुञ्जभित्र रहेका छाप्रु र रारा दुई गाउँका स्थानीयलाई नेपाल सरकारले बाँकेको लिचिसापानी स्थानान्तरण गरेको थियो ।

तर, चुुगाँ गाउँ दलित बस्ती भएकै कारण निकुञ्जभित्र रहेको चुगाँ गाउँका दलित बस्तीलाई सरकारले पनि वास्ता गरेन आफुहरू ४७ वर्षदेखि निकुुञ्जको नीतिनियमले जंगली जनावरसरह बाँच्नुपरेको ८० वर्षीय बुद्ध जयराम विकले बताउनुभयो । उहाँका अनुुसार निकुञ्जभित्रको बसाईं कष्टपूर्ण भएको र राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परेकोले बस्ती स्थानान्तरणका ला‍गि जिल्लाका नेतादेखि रारा राष्ट्रिय निकुञ्जसम्म जानकारी गराउँदा पनि सुनुवाइ भएन ।

स्थानीय युवा रतन विकका अनुसार बस्ती निकुञ्जको कोर एरियाभित्र पर्ने भएकाले राज्यबाट आउने सेवासुविधा निकुञ्जकै कारण रोकिने गरेको छ । गाउँमा कुनै पनि विकास योजना आउँदा आफू खुसी सञ्चालन गर्न पाइँदैन, निकुुञ्जसँग अनुमति माग्न जाँदा निकुञ्जले दिन मान्दैन, निकुञ्जको नीति नियमभन्दा बाहिर जान मिल्दैन भन्दै अनुमति नदिँदा गाउँमा आएका विकासका योजना निर्माण गर्न सकस भएको उहाँले बताउनुभयो ।

गाउँमा स्वास्थ्य चौकी छैन, गर्भवती महिला लगायत अन्य बिरामीलाई अस्पताल लैजान आधा घण्टासम्म डोकोमा बोकेर रोडसम्म लानुपर्ने बाध्यता छ । गाउँमा खानेपानी, शिक्षा ,स्वास्थ्य सबैको समस्याका बाबजुद जीवनयापन गर्न बाध्य भएका स्थानीय बताउँछन् ।

यसैबीच, रारा राष्ट्रिय निकुुञ् भित्र रहेको चुँगा गाउँ दलित बस्तीमा जंगली जनावरको सास्ती पनि उत्तिकै छ । चुँगा गाउँका स्थानीयको निकुुञ्जभित्रै नापी भएको जग्गा छ । आफ्नो जग्गामा खेतीपाती गरेको सबै जंगली जनावरले सखाप पार्ने गरेको स्थानीय ६० वर्षीया लालधरा विकले बताउनुभयो । उहाँका अनुसार वर्षभरी खेतीपाती गरेर उब्जाएको अन्न बाँदर, बँदेल चरा चुरुङ्गी लगायतले सखाप पार्ने गरेको छ । ‘यो गाउँमा हरेक समस्या छ, नजरबन्द सहर बाँच्नुु परेको छ । केही विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘चरिचरन घाँस दाउराको पनि उत्तिकै समस्या छ । घर बनाउन पुुर्जी भनेअनुसार पाइँदैन ।’

घाँस दाउरा गर्न जंगल जाँदा निकुुञ्जका कर्मचारीले दुःख दिने गरेका स्थानीय प्रेम बहादुर कामीले बताउनुभयो । छायाँनाथ रारा नगरपालिका–८ का वडा अध्यक्ष कर्णबहादुर रावलले चुुँगा गाउँ दलित बस्तीले निकुञ्ज प्रशासन, जंगली जनावरको बर्सेनि सास्ती खेप्नुु परेको बताउनुभयो ।

उहाँका अनुसार बस्ती स्थानान्तरणका लागि पटक पटक कुरा उठे पनि कार्यान्वयन भएको छैन । रारा राष्ट्रिय निकुुञ्जको नीति नियम र कानुन, जंगली जनावरको कारणले चुँगा गाउँका नागरिक आजित भएका र बस्ती स्थानान्तरणको लागि वडास्तरबाट सम्बन्धित् निकायमा पहल गर्ने निर्णय गरेको अध्यक्ष रावलले बताउनुभएको छ ।

यता रारा राष्ट्रिय निकुुञ्जका वन संरक्षण अधिकृत विश्वबाबुु श्रेष्ठका अनुसार जनावर बस्ने स्थानमा मानव बस्ती बस्दा पक्कै पनि केही समस्या हुने गरेको बताउनुभएको छ । ‘रारा राष्ट्रिय निकुुञ्ज विशेष गरी जंगली जनावरको बास स्थान अर्थात् घर हो । जनावरको बासस्थानमा मानवबस्तीले अतिक्रमण गरेर बस्नुु उचित हुदैन,’ उहाँले भन्नुभयो, ‘समुदायको तर्फबाट हेर्दा निकुुञ्ज भित्रको बसाईले मानवलाई समस्या भयो भन्ने होला । तर, निकुुञ्जको तर्फबाट हेर्ने हो भने निकुञ्जभित्रको मानवबस्तीका कारण जंगली जनावरलाई अन्याय भएको जस्तो देखिन्छ । बस्ती स्थानान्तरणको लागि कुरा आएको भन्ने आफुले सुुनेको छु ।’

निकुञ्ज भित्र रहेका रारा छाप्रका बस्तीलाई स्थानान्तरण गरेर बाँकेको चिसापानी, गाभारमा जसरी सारिएको छ, त्यसरी नै चुुँगा गाउँको बस्तीलाई सार्दा उपयुक्त हुने र यसको लागी सबैले सहयोग गर्नु पर्ने संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ ।