रुपन्देही, बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धका अनुयायी सम्राट अशोकसँग आफूलाई तुलना गर्नुभएको छ । उहाँले सम्राट अशोकको जीवनसँग आफ्नो जीवन पनि मेल खान जाने भन्दै तुलना गर्नुभएको हो ।
२५६७ औं बुद्धपूर्णिमा एवं लुम्बिनी दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको बताउनु भयो ।
‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो।
उहाँले आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पुरक रहेको बताउनु भयो । क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको पुष्टि गर्ने उहाँको भनाई थियो ।
उहाँले बुद्धका शिक्षाबाट आफू प्रभावित मात्र होइन त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरिरहेको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री दाहालले ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने भन्दै नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सकिने बताउनु भयो ।
‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन तर पनि नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञानरविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्ने छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्