रुपन्देही, बैशाख २३ । नेकपा एमालेका पोलिब्युरो सदस्य खिमलाल भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबै नेताहरु स्वयं उपस्थिति भएर छानविनमा सहयोगी बन्नुपर्ने बताउनु भएको छ ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता भट्टलाईले मानव तस्करी जस्तो काम असाधारण, जघन्य र अक्षम्य अपराध भएको बताउँदै अपराधी कुनै राजनीतिक दलको पर्खालभित्र सुरक्षित हुन नहुने र यसको तथ्यमा गएर अपराधी पत्ता लगाउनुपर्ने बताउनु भएको हो।
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने र पैसा असुल्ने अपराध सामान्य नभएको र यसले देशकै शीर निहुराएकाले नाम जोडिएका सबै नेताहरुले तत्काल प्रहरी समक्ष उपस्थिति भएर वास्तविक विषय बाहिर ल्याउनुपर्ने जउहाँको भनाई छ ।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, सांसद मन्जु खाणसमेतको नाम जोडिएपछि नेता भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै अपराधमा जोडिएका कोहीलाई पनि राजनीतिक संरक्षण गर्न नहुने बताउनु भयो ।
‘नक्कली शरणार्थी अपराधः अथोरिटी अपराधी बन्दा राज्यको प्रभाव र विश्वसनीयता समाप्त हुन्छ । यो राष्ट्रियताको प्रश्न पनि हो । विश्व समुदायले हाम्रो देश र सत्तालाई कसरी हेर्ने भन्ने प्रश्न जन्मिन्छ । देशकै शीर निहुरिन्छ ।नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने र पैसा असुल्ने अपराध यही कोटीको अपराध हो,’ भट्टराईको भनाई छ ।
उहाँले थप्नुभयो, ’यस किसिमका अपराधलाई कुनै दल वा व्यक्तिमाथि पूर्वाग्रह साध्ने औजार पनि बनाइनुहुँदैन । कसैलाई डाम्ने कसैलाई जोगाउने गरिनुहुँदै, नाम जोडिएका नेताहरु स्वयं उपस्थित भएर छानविनमा सहयोगी बन्नु वाञ्छित छ । देश, लोकतन्त्र, गणतन्त्र अर्थात मुलुक र समग्रमा परिवर्तनलाई सुरक्षित र बलियो बनाउन ओहोदामा बसेर गल्ती कमजोरी गर्ने नेताहरुले आफ्ना गल्ती कमजोरीलाई स्वयंले ओकल्ने बेला आएको छ । त्यसले मात्रै देश र परिवर्तनलाई बलियो बनाउँछ । सफाई दिऔं र अपराध छ भने स्वयं दण्डित हुने प्रायश्चितको बाटो समाऔं ।’














प्रतिक्रिया दिनुहोस्