काठमाडौं, बैशाख २३ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको प्रष्ट पार्नुभएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारमा १ घण्टा भन्दा लामो छलफलपछि बाहिरिने क्रममा यस्तो बताउनु भएको हो । प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिनुभयो ।
सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेपछि निस्किने क्रममा ओलीले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अभियुक्त बचाउन लागेको भनेर आफूविरुद्ध हल्ला फैलाइएको बताउनु भयो । ’अभियुक्तलाई बचाउन खोज्नुभएको भन्ने आरोप छ नि ?’ भन्ने प्रश्नको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ’तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन, त्यस्ताहरूले हल्ला फैलाएका हुन ।’
ओलीले प्रधानमन्त्री दाहालसँग थप के विषयमा छलफल भयो भन्ने विषयबारे भने केही खोल्नुभएन । त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ छन भन्ने प्रश्नको जवाफमा पनि ओलीले आफूलाई जानकारी नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ’तपाईंहरूले खोज्नु न !’ रायमाझी आफ्नो सम्पर्कमा नरहेको अध्यक्ष ओलीको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि ओलीले तीन दिनभित्र दोस्रो पटक प्रधानमन्त्री दाहाललाई भेटनु भएको हो ।
प्रधानमन्त्री दाहाललाई भेट्न ओली शनिबार करिब १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर दिउँसो करिब १ः४० मा बाहिरिनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्