जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार १८:२५

प्रधानमन्त्री प्रचण्डलाई एमालेले भन्यो : हामी टिकट काटेर बसेका छौं, चाँडो फिल्म देखाउनोस


काठमाडौं, बैशाख २४ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले नक्कली भुटानी शरणार्थी प्रकरण नौलो नभएको भन्दै पूरा फिल्म हेर्न आतुर रहेको बताउनु भएको छ ।

आजबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले गत भदौ २२ गते राष्ट्रियसभा बैठकमा नेकपा एमाले सांसद पार्वती राउतले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको तथ्य खोल्नुभयो ।

‘नक्कली भुटानी शरणार्थीको विषय नौलो होइन। गत भदौ २२ गते राष्ट्रियसभा बैठकमा नेकपा एमाले सांसद पार्वती राउतले यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। तर, कतैबाट सुनुवाइ भएन,’ बैठकमा गिरीले भन्नुभयो ।

उहाँले जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचार,अनियमिततामाथि कडा छानबिन हुनुपर्ने माग पनि गर्नुभयो । सांसद गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ती जनाउनु भयो।

प्रधानमन्त्री प्रचण्डले शनिबार एक कार्यक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्रउ परेको भन्दै यो टेलर मात्रै भएको र फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिनुभएको थियो । सो बिषयमा गिरीले भन्नुभयो, ‘प्रधानमन्त्रीले यो ट्रेलर मात्र हो फिल्म त आउन बाँकी रहेको छ भन्नु भएको छ। प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्न तयार छौं। हामी फिल्म हेर्न टिकट काटेर बसेका छौं। फिल्म देखाउनुहोस ।’