म प्रचण्डजीलाई भन्न चाहन्छु पछि हट्नुस कस्ले भन्यो ? झुक्नुस कस्ले भन्यो, कस्ले दबाब दियो ? मैले उहाँलाई के कसैको बारेमा कसलाई बचाइदिनुस, छानबीन नगर्नदिनुस, कारबाही नगर्नुस भनेँ ? मैले त भनेको छु कडाईं साथ छानबीन गर्नुस, कारवाही गर्नुस
काठमाडौं, बैशाख २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा कस्ले छानबिन नगर्न दबाब दियो भन्दै पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्नुभएको छ । आज बसेको एमाले संसदीय दलको बैठकबाट ओलीले प्रधानमन्त्रीलाई छानविन नगर्न कस्ले दबाब दिएको हो भन्दै प्रश्न गर्नुभएको हो ।
अध्यक्ष ओलीले आफूसँगको भेटमा एउटा कुरा गर्ने र अर्कै बिषयलाई लिएर बेइमानी गर्ने गरेको तथ्य पनि सुनाउनु भयो । शनिबार सिंहदरबारमा अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा भइरहेको छानबिन कसैको दबाबमा नरोकिने अभिव्यक्ति दिनुभएको थियो । ओलीले सो अभिब्यक्तिपछि यस्तो प्रश्न सोध्नुभएको हो ।
एमालेका सांसदहरुले यस अगाडिदेखि नै नक्कली शरणार्थी प्रकरणबारे संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको तर अहिले मुख्य अभियुक्त जोगाउन अनेकथरी चलखेल गरिरहेको बताउनु भयो । ‘यस कुरामा हामीले सरकारलाई सचेत गराइरहेका छौं। हामीले सरकारको ध्यानाकर्षण गराइरहेका छौं,’ ओलीले भन्नुभयो, ‘बयान फेरेर दोषी जोगाउने काम पनि गर्ने, अनि म झुक्दिनँ, दबाबमा पर्दिनँ भन्दै कुर्लने ? कस्ले दबाब दियो ?’
उहाँले आफूसँगको भेटमा बिभिन्न बिषयमा कुरा गर्ने तर बाहिर अर्कै भन्ने गरेको पनि बताउनु भयो । ‘मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने ? म निस्किएपछि कसैको दबाबमा पर्दिनँ म, अनि फुँइ के लगाएको ? कसैको दबाबमा पर्दिनँ, म झुक्दिनँ, म पछि हट्दिनँ भनेर ? म प्रचण्डजीलाई भन्न चाहन्छु पछि हट्नुस कस्ले भन्यो ? झुक्नुस कस्ले भन्यो, कस्ले दबाब दियो ? मैले उहाँलाई के कसैको बारेमा कसलाई बचाइदिनुस, छानबीन नगर्नदिनुस, कारबाही नगर्नुस भनेँ ? मैले त भनेको छु कडाईं साथ छानबीन गर्नुस, कारवाही गर्नुस ।’
अध्यक्ष ओलीले आफूले कुरा उठाएपछि प्रचण्डले भर्खर मैले कुरा बुझ्दैछु भनेको जानकारी दिनुभएको तथ्य पनि सुनाउनु भयो ।













प्रतिक्रिया दिनुहोस्