नुवाकोट, २५ बैशाख । नेपाली काँग्रेस, नुवाकोटका पुराना कार्यकर्ता लुमडी कार्कीले सो पार्टीमा सत्ता चलखेल र नैतिकहीन कार्य बढेको जनाउँदै पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
विदुर नगरपालिका वडा नं. १३, कल्याणपुर निवासी कार्कीले यही वैशाख २४ गते एक वक्तव्यमार्फत लोकतन्त्रलाई लुटतन्त्र बनाउन काँग्रेसका नेताहरु लिप्त भएकाले आफू पार्टीबाट अलग रहेको जनाउनुभएको हो ।
नेपाली उपभोक्ता संरक्षण महासंघका उपमहासचिव, प्रवक्ता एवं बजार अनुगमन तथा मूल्यांकन प्रमुख रहेका कार्की सामाजिक र सुशासनका क्षेत्रमा पनि कार्यरत हुनुहुन्छ ।
यस्तो छ कार्कीको काँग्रेस परित्याग घोषणा :
‘मैले जानेसुनेदेखि आस्था बोकेको प्रिय नेपाली काँग्रेस पार्टी यात्राको २५ वर्षदेखि गाँसिएको सम्बन्ध बिपीको सोच र चिन्तनबाट अलग हुने निर्णय गरेको छु । देशको राजनीति तिव्र नैतिकहीन, चरम सत्ताचलखेल र अति अस्थिरतामा फसेर भट्टीको जुवाखालसरह हुँदा पनि रमिते भएर बस्ने देशका बुद्धिजिवी, पेसाकर्मी र टाठाबाठाहरु यो परिणामका दोषी हुन् । यो वर्ग नसुध्रिएसम्म राजनीति सुध्रन्न । देश लोकतन्त्र होइन लुटतन्त्रतर्फ उन्मुख हुँदैछ ।
मेरा आदरणीय राजनीतिक गुरु अर्जुननर्सिङ केसी ज्यूलाई स्मरण गर्दै विभिन्न कालखण्डको परिवर्तनको मुलवाहक काँग्रेस पार्टीप्रति जनताको वितृष्णा मौलाउँदै गएको र भ्रष्टाचार एवं गुट उपगुटका कारण असल राजनीतिज्ञको राजनीतिक हत्या भएको छ । पदीय जिम्मेवारी र टिकट वितरणमा केन्द्रदेखि तल्लो तहसम्म आर्थिक लेनदेन, अपचलन र परिवारवाद संवैधानिक निकायमा भागबन्डाको हिस्सेदार र अपराधी प्रवृत्तिको संरक्षण भइरहेको छ ।
२१ औं शताब्दीको टेक्नोलोजी अनुसार अगाडी बढ्न नसक्नु, ठोस आर्थिक नीति र योजना चयन गर्न नसक्नु बौद्धिक ब्यक्तित्वहरुको मूल्याकंन नहुनु, काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेस कार्यकर्ताको शीर निहुरिने झुकाउने अवस्था सृजना भएको छ ।
जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किशुनजी जस्ताको ऐतिहासिक दल परिवारवादामा रुमलिनु, नैतिक पतन र आचरणहीन व्यक्ति पार्टीका शीर्ष स्थानमा बिराजमान रहनु सुशासन र अनुशासनको खडेरी पर्नु, आर्थिक उन्नतिको एजेण्डा कार्यान्यनप्रति अर्जुनदृष्टि नहुनु र केही स्वार्थ प्राप्तिका लागि कुनै एजेन्डा बिहिन पार्टीसँग गठबन्धन गरिनु जस्ता कार्यबाट म जस्ता लाखौ नेता कार्यकर्ता विचलित हुनपुगेका छौं ।
पार्टीप्रति नमन गर्दै मैले तिनका झोले बनेर भ्रष्टहरुको मतियार बनेर हिड्न नसकिने प्रष्ट पार्दै मेरा शुभचिन्तक, आमाबुबा दाजुभाइ दिदिबहिनी र साथीभाइमा हाम्रो भविष्य भन्दा पनि ती अवोध बाबुनानीको भविष्य सुनिश्चित पार्न म हर प्रयास गरिरहने छु ।
तपाईहरुको माया र साथलाई शिरोपर गर्नेछु भन्नेमा पूर्ण विश्वास व्यक्त गर्दै मलाई विश्वास गरी विभिन्न पार्टी परित्याग गरी काँग्रेस पार्टीमा प्रवेश गर्नुभएका सम्पूर्णप्रति आत्मादेखि क्षमायाचना माग्दै आजकै मितिदेखि साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र भएको घोषणा गर्दछु । बाँकी जीवन सामाजिक कार्य र जनहितमा लगाउने प्रतिबद्धता जाहेर गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान र कार्यदिशा मेरो बटमलाइन हुनेछ ।’
लुमडी कार्की, नुवाकोट
महाधिवेशन प्रतिनिधिका प्रत्याशी, नेपाली काँग्रेस












प्रतिक्रिया दिनुहोस्