जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार ०७:३३

प्रधानमन्त्री ओलीलाई ७ पटक प्लाज्माफेरेसिस गरिने, स्वास्थ्य अवस्था सामान्य


काठमाडौं, भदौं १० । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मृगौलासम्बन्धी एन्टिबडी’ को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुग्नुभएका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर ‘प्लाज्माफेरेसिस’ थालिएको हो ।

हालसम्म उहाँको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि प्लाज्माफेरेसिस गरिँदै छ । प्रधानमन्त्रीका निजि चिकित्सक दिब्या सिंहको भनाई उधृत गर्दै सिंगापुरबाट पठाइएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको शरीरका लागि आवश्यकभन्दा भिन्न प्रकारको एन्टिबडी देखिएपछि यो प्रक्रिया अपनाइएको हो । यसअघि साउन १८ देखि साउन २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्री ओलीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाइएको थियो ।

उपचारमा संलग्न विशेषज्ञद्वारा हालसम्म ओलीको मृगौलासम्बन्धी तेस्रो पटक एन्टिबडी हेरिएको हो । यसअघि ओलीको सन् २०१३ मा हातमा फरक प्रकारको संक्रमण हुँदाताका र दुई वर्षअघि समेत एन्टिबडी हेरिएको थियो । तर यस्तो एन्टिबडी शरीरमा भएर मात्र हुँदैन, ‘दाता विशिष्ट एन्टिबडी’ हुनुपर्छ । यस्तो, ‘डोनर स्पेसिफिक एन्टिबडी’ देखिँदा यसलाई समयमै शरीरबाट बाहिर निकाल्दा राम्रो हुन्छ । हाल यही विशेष प्रकारको एन्टिबडी बढेपछि बचाउका लागि प्लाज्माफेरेसिस प्रक्रिया अपनाइएको हो । ‘यस्तो एन्टिबडी देखियो भने मृगौला फेल हुन्छ भनेर यो प्रक्रिया सुरु गरिएको होइन र यो प्रक्रिया मृगौला फेल भएकाले गर्नेसमेत होइन,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक विशेषज्ञले भने, ‘यो अत्याधुनिक प्रक्रियाले मृगौलाको आयुलाई लम्ब्याउन सकिन्छ ।’

प्लाज्माफेरेसिसमा एन्टिबडीलाई हटाउनका लागि शरीरको रगतलाई निकालेर उपचार गरेर फेरि त्यसलाई शरीरमा पठाइन्छ । जसले गर्दा मृगौलामा भइरहेको आक्रमण रोक्न सकिन्छ । यो रक्त शुद्घीकरण प्रक्रियाको उपयोग थुप्रै अटोइम्युन रोगको उपचारमा समेत गरिन्छ । १२ वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराउनु भएका ओलीलाई यसअघि हात लगायतमा दुई–तीन पटक संक्रमण भइसकेको छ । त्यसैले विशेषज्ञहरूले प्लाज्माफेरेसिससँगै संक्रामक रोग रोकथाम गर्न सक्ने अत्याधुनिक सशक्त चिकित्सकीय टोली चाहिने भन्दै सिंगापुर लगिएको हो ।

विशेषज्ञहरूका अनुसार प्लाज्माफेरेसिसको सामान्य प्रयोग आँखाको नसा र मेरुदण्डको हाडलाई प्रभावित गर्ने केन्द्रीय स्नायु प्रणालीसम्बन्धी अटोइम्युन रोग न्युरोमाइलाइटिस अप्टिकामा समेत प्रभावकारी मानिन्छ । केन्द्रीय स्नायु प्रणालीमा आक्रमण गर्ने अटोइम्युन रोग ‘मल्टिपल स्क्लेरोसिस’, न्युरो मसकुलर डिजअर्डर ‘माइस्थानिया ग्रेभिस’, गुलियन वेरी सिन्ड्रोम, ट्रान्सभर्स माइलाइटिस, छाला रोग सोराइसिस लगायतमा समेत गरिन्छ ।