जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार १८:५८

प्रधानमन्त्रीलाई ओलीको बटमलाइन : एमालेले दोषी कसैको बचाउ गर्दैन, निर्दोषलाई फसाउन पनि दिइन्न


काठमाडौं, बैशाख २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले दोषीलाई छानीछानी उम्काएर निर्दोष व्यक्तिलाई फसाउन नपाउने प्रष्ट बटमलाइन सुनाउनु भएको छ ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै अध्यक्ष ओलीले एमालेले दोषी कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको तथ्य खोल्नुभएको हो । ‘करप्सनलाई एमालेले टोलरेट गर्दैन । तर कसैलाई खेदीखेदी हत्कडी लगाउने, कसैलाई छानीछानी छोड्ने कुरा सह्य हुँदैन,’ ओलीले भन्नुभयो ।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीजति सवै सत्तारुढ दलतिरै भएपनि एमालेतिर लक्षित गर्ने षडयन्त्र भइरहेको बताउनु भयो । यस बिषयमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको तर उल्टो प्रचार गरिदिएको बताउनु भयो । बोलाएर भेटन जाँदा अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको ओलीको भनाई छ ।

‘मैले भ्रष्टहरु नछुटुन भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नुभएको छ, मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ,’ ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई मुद्दामा फसाउने खेलमा रहेको टिप्पणी पनि गर्नुभयो । उहाँले ट्रेलर मात्र नभएर सिनेमा नै देखाउन प्रचण्डलाई चुनौतीसमेत दिनुभएको छ ।

‘प्रचण्डलाई जनताले चिनेकै छैनजस्तो गरेर, सेतो वस्त्र लगाएको, दुधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दवाव मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दवाव दिएको थिएँ ? मैले दवाव दिएको जस्तो पार्न खोज्नुभयो । उहाँ दुनियाँ लट्पटाउन सिपालु हुनुहुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।