काठमाडौं, बैशाख २६ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले वर्तमान सरकारलाई कसैले पनि बिश्वास नगरेको तथ्य राख्नुभएको छ । निजामति कर्मचारीदेखि लगानीकर्ता र विदेशीले सरकारलाई बिश्वास नगरेको तथ्यसहित भट्टराईले संसदमा कुरा उठाउनु भएको हो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभा बैठकको छलफलमा आज सहभागी हुने क्रममा एमाले सचिव भट्टराईले कर्मचारी, लगानीकर्ता र विदेशीले विश्वास नगरेको सत्तारुढ गठबन्धन परिवर्तन गर्नुपर्ने बताउनु भयो । सांसद भट्टराईले वैदेशिक ऋण तथा अनुदान, सेयर बजारको अवस्था, महालेखाको प्रतिवेदन तथा आन्तरिक लगानी हेर्दा सरकारलाई कसैले विश्वास तथ्य देखिएको बताउनु भयो ।
’एकातिर अन्तर्राष्ट्रिय समुदायले पत्याएको छैन । अर्कोतिर नेपालकै पुँजीपति, लगानीकर्ताले पत्याएका छैनन । शेयरबजार, लगानीबाट हेर्न सकिन्छ । महालेखाको प्रतिवेदन हेर्दा १ खर्ब १५ अर्बभन्दा बढी बेरुजु छ र ३० प्रतिशतभन्दा बढी पुँजीगत लगानी भएको छैन,’ भट्टराईले भन्नुभयो, ’कर्मचारीले विश्वास गरेको छैन । विदेशीले विश्वास गरेको छैन । अब यो जोडी कायम राख्ने कि जोडी बदल्ने कि छोड्ने ? यो ठाउँमा छलफल गर्नुपर्ने देखिन्छ ।’
वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने निश्कर्ष पनि उहाँले सुनाउनु भयो । उहाँले वर्तमान गठबन्धन परिवर्तन नगरे अर्थतन्त्र दुर्घटनामा पर्ने चेतावनी पनि दिनुभयो । ‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन । कर्मचारीतन्त्र चलैकै छैनन, यो तथ्यलाई सरकारमा बस्नेहरुले बुझेका पनि छैनन,’ भट्टराईको भनाई थियो ।
उहाँले मुलुकमा चौतर्फी अविश्वास नै अविश्वासको अवस्था सिर्जना भएको बताउनु भयो । अर्थतन्त्र झारफुकले निको नहुने र सर्जरी गर्नका लागि चिकित्सक दक्ष नभएको पनि उहाँको भनाई थियो ।
’हिजो एकजना सांसदले अब झारफुकले हुँदैन, सर्जरी नै गर्नुपर्छ भन्नुभयो । सर्जरी त गर्ने हो, तर उपकरण ठिक छैन, डाक्टर ठीक छैनन । डाक्टर बदल्ने कि उपकरण बदल्ने कि, त्यही काम नलाग्ने उपकरण र काम नलाग्ने डाक्टरलाई सर्जरी गर्न लगाउने ? यो बहस हो,’ सचिव भट्टराईले भन्नुभयो, ‘यही उपकरण र डाक्टरले बिरामीको सर्जरी गर्न सक्दैन, बिरामीको मृत्यु हुनु अनिवार्य छ । बिरामी बचाउने हो भने माथिल्लो तहबाट बहस हुनपर्छ ।’













प्रतिक्रिया दिनुहोस्