काठमाडौं, बैशाख २७ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय सवैभन्दा मुख्य भूमिका खेलेको प्रमाण भेटिएको छ ।
मुख्य भुमिकामा खाण रहेको प्रमाण जुटाएलगत्तै पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । गिरोहका सदस्यदेखि खाण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डेले समेत सवै काम मन्त्रीकै निर्देशनमा भएको बताएपछि प्रहरीले प्रमाण जुटाएर आज भाग्ने तयारी गर्दागर्दै निवासबाट एकाबिहानै पक्राउ गरी भर्खरै मात्र जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको छ ।
प्रहरीका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा काम पत्ते गर्ने गरी खाणले गृहमन्त्रीका रुपमा मुख्य भूमिका खेलेको तथ्य पाइएको छ । ‘पछिल्लो समयमा खाणकै नेतृत्वमा नक्कली भुटानी शरणाथी बनाउने काम अघि बढाइएको र पैसाको लेनदेनसमेत गरेको प्रमाणका आधारमा पक्राउ गरिएको हो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जनताटाइम्स डटकमलाई भने । ती प्रहरी अधिकृतका अनुसार खाणले गृह मन्त्रालयमै पैसा बुझेको तथ्यसमेत भेटिएको छ ।
‘यो प्रकरणमा खाणको पनि ठूलो भूमिका देखिएको छ । गृहमा हुँदा उनैले धेरै रकम बुझेको देखिन्छ, उनका पिएको पनि संलग्नता देखिएको छ, दुबै जनाविरूद्ध हामीसँग पर्याप्त प्रमाण छ,’ ती अधिकृतले भने । खाण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणमा बनाइएका नक्कली प्रतिवेदन र कागजात, उनी र निकटले पैसा लेनदेन गरेका प्रमाण र पछिल्लो बयानमा गृहसचिव पाण्डेले नै खाणको संलग्नतामा आफूले काम गरेको तथ्य खोलेपछि प्रहरीले पक्राउन गर्ने निर्णय गरेको हो ।
प्रहरीले गृहसचिव पाण्डेसँग विभिन्न चरणमा सोधपुछ गरिरहेको छ । पछिल्लो पटक उच्च प्रहरी नेतृत्वसामु पाण्डेले पूर्वगृहमन्त्री खाण नै मुख्य भुमिकामा रहेको बताएका थिए ।
पाण्डेले सरकारी वकिलको कार्यालयमा समेत खाणको मुख्य भुमिका रहेको भन्दै बयान दिइसकेका छन ।सचिव पाण्डेलाई पक्राउ गर्न जाँदा प्रहरीले उनको फोन बरामद गरेको थियो। अनुसन्धान अघि बढाउन उक्त फोनले ठूलो सहयोग पुग्यो। प्रहरीले फोनबाट मेटिएका विवरण उकास्न फरेन्सिक प्रयोगशालामा पठाएको थियो।
फोनबाट ‘रिट्रिभ’ गरिएका (उकासिएका) विवरणमा नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाउने गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी लगायतसँग सचिव पाण्डेले पटक–पटक गरेका कुराकानीका साथै अन्य सामग्री पनि फेलापरेको थियो । कुराकानीमा पाण्डेसहितले करोडौं रकमको लेनदेन गरेको प्रमाण भेटिएको छ । त्यसरी लेनदेन गर्नमा खाणकै पिए नरेन्द्र केसीको पनि ठूलो भूमिका देखिएपछि उनलाई पनि आजै पक्राउ गरिएको छ ।
प्रहरीलाई दिएको जाहेरीमा पीडितहरूले एउटा आधा घन्टाको अडिओ पनि बुझाएका छन्। उक्त अडिओमा पीडितले खाणको घरमा गएर ६ करोड रुपैयाँ बुझाएको उल्लेख छ। खाणकी श्रीमती मञ्जु खाणलाई ६ करोड र नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणालाई साढे दुई करोड रुपैयाँ बुझाएको अडिओमा उल्लेख छ ।
अडिओमा भनिएको छ, ‘आरजुलाई साढे दुई करोड बुझाएको हो, ६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मञ्जुदेवीले बुझ्नुभएको हो घरमा। हनुमानथानमा घर छ त्यहाँ बुझ्नुभएको हो ।’ उक्त संवाद पीडित र बिचौलियाबीच भएको थियो। बिचौलिया पनि हाल हिरासतमै छन्।प्रहरीले अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण र उनका पिए केसीसहित १२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । एमाले सचिव रायमाझी भने फरार छन । उनलाई एमालेले निलम्बन गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्