काठमाडौं, बैशाख २७ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् रघुजी पन्तले संसद्काे अधिकार राष्ट्रपतिले खाेस्न नहुने बताउनुभएकाे छ ।बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पन्तले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राेकेर राखेकाे नागरिकता विधेयक जारी गर्नका लागि वर्तमान राष्ट्रपति रामचन्द्र पाैडेलले परामर्श तीब्र पार्नुभएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
नागरिकता विधेयक तत्काल प्रतिनिधि सभामा ल्याउन माग गर्दै उहाँले दिनरात छलफल गरेर त्याे चाँडाे भन्दा चाँडाे पारित गर्न आफूहरु तयार रहेकाे बताउनुभयाे । सांसद् पन्तले भन्नुभयाे, ‘राष्ट्रपतिज्यूले सरसल्लाहलाई निरन्तरता दिनुभएकाे छ, निष्क्रिय भएर थन्किएकाे नागरिकता विधेयककाे सम्बन्धमा, याे दु:खद कुरा हाे, म सरकारलाई आग्रह गर्दछु त्याे नागरिकता विधेयक तुरुन्त याे प्रतिनिधि सभामा ल्याएर दर्ता गराेस्, त्यसमाथि छलफल गराेस्, हामी दिनरात छलफल गरेर पारित गर्न तयार छाैं ।’
राेकिएकाे विधेयक जारी गर्न मिल्छ-मिल्दैन भनेर संविधानकाे संरक्षकले छलफल गर्न नमिल्ने उहाँले बताउनुभयाे । सांसद् संसद्काे अधिकार नखाेस्न राष्ट्रपति पाैडेललाई आग्रह पनि गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘धुलाे लागेर बसेकाे विधेयकलाई टक्टक्याउँदै राष्ट्रपतिले झिकेर याे जारी गर्न मिल्छ मिल्दैन भनेर छलफल गर्न संविधानकाे स्प्रिडले दिन्छ ? संविधानकाे संरक्षकले गर्ने काम हाे याे ? म राष्ट्रपतिलाई विनम्रतापूर्वक आग्रह गर्दछु – याे प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसद्काे अधिकार उहाँबाट नखाेसियाेस्, याे विधेयक यहाँ आउनुपर्याे, विधेयकमा छलफल गर्ने, कानुन बनाउने प्रारम्भिक दायित्व हाम्राे हाे, याे अधिकारकाे सुरक्षा हाेस् ।’














प्रतिक्रिया दिनुहोस्