काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको प्रमुख तीन दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ । बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक यस्तो सहमति भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सुरुदेखि नै प्रहरीको अनुसन्धानमा डिस्टर्व वा धम्की दिने काम कतैबाट हुन नहुने बताएको भन्दै उच्च राजनीतिक नेतृत्व मुछिए पनि डिस्टर्व गर्न नहुने प्रस्ताव राख्नुभएको थियो । गिरोहको सदस्यले दिएको बयान नै रोकेर नाम फेर्ने काम भएको तथ्यसहित ओलीले अव सवैले प्रहरीलाई दवाव नदिने कसम खानुपर्ने ओलीको प्रस्ताव थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो प्रस्तावलाई सहमति छ भन्दै प्रतिवद्धता जनाउनु भएको थियो । उहाँको समर्थनसँगै दवावमा पर्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले अव मैले हुन्न भनेर के हुन्छ र ? भन्दै समर्थन छ, साझा सहमति गरौं भन्नुभएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो ।
बैठकपछि प्रधानमन्त्री दाहालले तीन नेताबीच प्रहरीलाई डिस्टर्व नगर्ने सहमति रहेको जानकारी दिनुभयो । ‘यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
उहाँले मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको समेत प्रष्ट पार्नुभयो ।
‘हामीहरुको भेट बढी अहिले सदनलाई कसरी सुचारु गरेर लैजाने ? त्यहाँ समितिहरू कसरी बनाउने, संयुक्त समितिहरू कसरी बनाउने भन्ने विषयमा बढीजसो छलफल हुने गरेको हो । तपाईंहरूलाई लागेको छ, त्यही एउटै केसमा तर त्यो होइन’, प्रधानमन्त्री दाहालको भनाई थियो ।
प्रधानमन्त्री दाहालले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस भनेर प्रहरीलाई स्पष्ट निर्देशन दिएको समेत बताउनु भयो ।
‘हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौ प्रहरीलाई,’ प्रधानमन्त्रीले भन्नुभयो ‘प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा आशंका गर्नुपर्ने केही कारण छैन । जे भएको छ विधि विधान अनुसार, नियमपद्दतिअनुसार प्रहरीले आफ्नो काम गरेको छ । हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौँ ।’













प्रतिक्रिया दिनुहोस्