जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १४:१७

नक्कली भुटानी शरणार्थी प्रकरण : तात्कालिन मन्त्री खाण र सचिव पाण्डेले गृहको फाइल नै हेरफेर गरेको तथ्य भेटियो


काठमाडौं, बैशाख २९ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन तात्कालिन गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालयमा रहेको फाइल नै हेरफेर गरेको तथ्य उजागर भएको छ ।

नेपाल प्रहरीले अनुसन्धानको क्रममा तात्कालिन मन्त्री खाण र सचिव पाण्डेले गृह मन्त्रालयको अभिलेखमा भएको फाइल झिकेर नकली भुटानी शरणार्थी खडा गर्ने गिरोहले नक्कली शरणार्थीको नामावलीसहित तयार पारेको फाइल राखेको तथ्य फेला परेको हो । प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको तथ्यअनुसार तत्कालीन गृहसचिव पाण्डेले अध्ययन गर्नु छ भनेर लगेको फाइल दुई सातापछि फिर्ता गर्दा अनुसूचीसहित नक्कली शरणार्थीको नाम थपिएको पाइएको छ ।

नक्कली भुटानी शरणार्थी खडा गर्ने गिरोहको योजनामा खाण र पाण्डेले गृह मन्त्रालयलाई नै मानव तस्करीको केन्द्र बनाएर काम गरेको तथ्य यो घटनासँगै उजागर भएको छ । वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्दै आएका केशव दुलाल र सानु भण्डारीसहितको गिरोहले ‘छुट’ दर्ताका नाममा नक्कली शरणार्थी खडा गर्ने र पैसा उठाउने योजना बनाए अनुसार खाण र पाण्डे प्रयोग भएको र मन्त्रालयलाई गिरोहको काम फत्तै गर्ने अखडामा परिणत गरेको पाइएको हो ।

दुलाल र भण्डारीको समुहले अआफ्नो असुली योजना सफल बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको बेला तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई र छोरा प्रतिक थापा मार्फत योजना अघि बढाएका थिए । गिरोहकै योजनाअनुसार राईले मन्त्री थापाको मन्त्रीस्तरीय निर्णयबाट २०७६ जेठ ३० मा बालकृष्ण पन्थी संयोजक, गणेशकुमार केसी सदस्य र मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव रहेको कार्यदल बनाउन लगाएका थिए ।

कार्यदलले प्रतिवेदन २०७६ कात्तिकमा सरकारलाई बुझाइएको थियो । कार्यदलले मन्त्रिपरिषद्लाई बुझाइएको प्रतिवेदनमा ४ सय २९ भुटानी शरणार्थीलाई परिचयपत्र दिन सिफारिस गरिएको थियो । यी नाम शरणार्थीसम्बन्धी राष्ट्रसंघीय मिसन यूएनएचसीआरले पहिले नै तयार पारेको प्रतिवेदनमा आधारित थियो । तर, कार्यदलका पदाधिकारीले नामावली भएको अनुसूचीमा हस्ताक्षर गरेका थिएनन । हस्ताक्षर नभएको अनुसूची पछि खाण र सचिव पाण्डेले थपेको पाइएको छ ।

मन्त्रालयमा रहेको सो फाइलको साटो मन्त्री खाण र सचिव पाण्डेले गृहको कार्यदलसँग मिल्दोजुल्दो हुने गरी बनाइएको गिरोहका समानान्तर प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरिएको फाइल साटेका हुन । यो शीर्षकमा ८ सय ७५ जनाको नाम राखिएको छ ।

२०७८ असार २९ मा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बन्नुभएका खाँण र उहाँकै रोजाइमा आउनु भएका गृहसचिव पाण्डेले फाष्ट ट्रयाकबाट काम अघि बढाउनु भएको हा । मन्त्री खाणको रोजाइअनुसार साउन २७ गते गृह मन्त्रालय हाजिर हुनुभएका सचिव पाण्डेले असोज १४ मा शरणार्थी समस्या समाधानका लागि सुझावसहित राय पेस गर्न भन्दै सचिवस्तरीय निर्णयबाट झापा प्रशासनलाई पत्र लेख्नुभयो ।

तर, जिल्लाबाट प्रतिवेदन नआउँदै गृह सचिव पाण्डेको समन्वयमा गृहमन्त्री बालकृष्ण खाँणले पन्थी कार्यदलको प्रतिवेदन मन्त्रिपरिषदमा लग्नुभयो । २०७८ मंसिर १३ मा बसेको देउवा मन्त्रिपरिषद्ले ‘पन्थी कार्यदलको’ प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले प्रतिवेदनको स्वामित्व लिएपछि त्यसैका नाममा अर्को फाइलअनुसार काम गर्ने योजना बनाइएको पाइएको हो ।

अनुसन्धानको क्रममा फेला परेको तथ्यअनुसार सचिव पाण्डेले पन्थी कार्यदलको प्रतिवेदन ‘अध्ययन गर्नु छ’ भनेरस्थानीय प्रशासन शाखाबाट झिकेर २ सातापछि मात्रै शाखामा फिर्ता ल्याउनु भएको थियो । त्यही बेला सक्कली प्रतिवेदन आफूसँगै राखेर पाण्डेले नक्कली प्रतिवेदन ल्याएर स्थानीय प्रशासन शाखामा राखेको तथ्य फेला परेको हो ।

फाइल हेरफेरपछि २०७९ जेठ २७ मा फेरि तत्कालीन गृहमन्त्री खाँणले मन्त्रीस्तरीय निर्णय गरेर झापा प्रशासनलाई कार्यादेश दिनुभएको थियो । अघिल्लो असोजमा सचिव (पाण्डे) स्तरीय निर्णयअनुसार कार्यादेश थप गर्दै छुट शरणार्थीसमेतका सन्दर्भमा दीर्घकालीन समस्या समाधान र व्यवस्थापनबारे ठोस राय पेस गर्न मन्त्री (खाँण) स्तरीय निर्णयबाट झापा प्रशासनलाई निर्देशन दिइएको थियो । यो काम पनि पहिलेबाटै विवादित बनेकाले झापा प्रशासनले अघि बढाएन । यहीबीच खाँण मन्त्रीबाट बिदा भए भने पाण्डे उपराष्ट्रपति कार्यालयमा सरुवा भए ।

यो प्रकरणमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर थुलुङ राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परिसकेका छन । अनुसन्धानकै क्रममा तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता खाँण, सचिव पाण्डे, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव रहेका सांसद रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन । पूर्वउपप्रधानमन्त्री रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज भने हालसम्म फरार छन ।

शरणार्थी प्रकरणमा कांग्रेस नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, नेतृद्वय आरजु राणा देउवा र मञ्जु खाँण पनि मुछिनु भएको छ । खाण पक्राउ परेपछि मञ्जु सम्पर्कबिहीन हुनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा लेनदेनमा मञ्जु र आरजु सहभागी भएको गिरोहका सदस्यहरुले बयान दिइसकेका छन ।