जनता टाइम्स

३० बैशाख २०८०, शनिबार १३:३६

नेपाल रेडक्रसको नाममा मानव तस्करीको धन्दा : पैसा असुलेर अमेरिका–क्यानडा पठाउने गरिएको खुलासा


काठमाडौं, बैशाख ३० । नेपाल रेडक्रस सोसाइटीमा बेथितिले चरम सीमा नाघेको छ । रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले पैसा अनुली गरी रेडक्रसभन्दा बाहिरका ब्यक्तिलाई बिदेश पठाउने र उतै लुकेर बस्ने धन्दासमेत चलाएको पाइएको छ ।

पछिल्लो पटक ढकालले रेडक्रस छाडेका ब्यक्तिहरुलाई आर्थिक लाभका आधारमा बिदेश पठाउने धन्दा नै चलाउनु भएको तथ्य जनताटाइम्स डटकमलाई प्राप्त भएको छ । ढकालले रेडक्रसकै बदनाम गर्दै पैसा असुली गरेर रेडक्रसकमा कार्यरत कर्मचारी र अन्य सदस्यको ठाउँमा संस्था छाडेका ब्यक्तिहरु पठाएको पाइएको हो ।

पछिल्लो उदाहरणका रुपमा शुशिल राज रेग्मी रहेका छन । रेग्मीले रेडक्रस छोडेको २ बर्ष भइसकेको छ तर ढकालले आर्थिक लाभका आधारमा अनाधिकृत सिफारिश गरेको कारण रेग्मी क्यानडा जाने तयारीमा रहेको र उहाँको भिसा लागिसकेको छ । रेग्मी यही मे महिना क्यानडा उडन लाग्नुभएको छ ।

रेडक्रसको नाममा बिदेशमा तालिममा जाने भन्दै गएकाहरु पनि फर्किएका छैनन । जस्को उदाहरण रञ्जना कार्की हुनुहुन्छ । रेडक्रस भक्तपुरमा कार्यरत कार्कीलाई तालिमको लागि भनी क्यानडाका लागि सिफारिस गरिएको थियो । भिषा लागेपछि निजी खर्चमा क्यानडा गई कार्की उतै लुक्नुभएको छ । जस्ले रेडक्रसकै बदनाम गरेको छ ।

यस्तै नेपाल रेडक्रसका पूर्वअध्यक्ष सञ्जीव थापाको जेठी सासूको छोरा सन्तोष दाहाल पनि अमेरिका गएर उतै लुक्नुभएको छ । नेपाल रेडक्रसको संस्थागत सिफारिशमा दाहाल अमेरिका गइ उतै बस्नुभएको हो । पूर्वअध्यक्ष थापाकै भतिज दिलबहादुर थापा पनि रेडक्रसको सिफारिशमा अमेरिका गई उतै लुक्नुभएको छ ।

नेपाल रेडक्रसको सिफारिशमा अमेरिका गएरु नफर्कनेको सूचीमा मनोज थोकर पनि हुनुहुन्छ । उहाँ पनि रेडक्रसको बदनाम गराउँदै अमेरिकामै लुक्नु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्वगृहमन्त्री बालकृष्ण खाणको बदमासीका कारण रेडक्रसले पनि मानव तस्करीको धन्दा चलाएको पाइएको हो ।

तत्कालीन केपी शर्मा ओलीको सरकारले सो प्रकरण छानविन गर्न डा. नेत्रप्रसादको अध्यक्षतामा तदर्थ समिति गठन गरी काम सुरु गरेकोमा ओली सरकार हटेलगत्तै गृहमन्त्री बन्नुभएका खाणले मन्त्रीस्तरीय निर्णय गरी समितिलाई काम गर्न रोक्नुभएको थियो । उक्त निर्णयविरुद्ध तिमिल्सिना सर्वाेच्च अदातल गएर अन्तरीम आदेश पाए पनि खाणले प्रहरी प्रशासनको दुरुपयोग गरी समितिलाई काम गर्न दिनुभएन । मन्त्री खाणकै आडमा ढकालले रेडक्रसमा अबैध धन्दा चलाएर संस्थाकै बदनाम गर्नुभएको हो ।

यस्तै रेडक्रसको संस्थागत सिफारिशमा अमेरिका गएका भक्तपुरका दिपक लामिछाने, राजेन्द्र देमरु, देवीप्रसाद दाहाल र शुसान्त राउत पनि क्यानडामै लुक्नुभएको छ । यस्तै भक्तपुरका शुभचिन्तक थापा, कृष्णराम थापा, मनोहरी केसी, सुनसरीका बृद्धीकृष्ण थापा, चितवनका निर्मला विक र नन्दुकेशरी खनाल पनि रेडक्रसबाट अमेरिका गएर उतै लुकेका छन ।

यी सवैलाई कार्यकारी निर्देशक ढकालले आर्थिक लाभ लिएर अमेरिका र क्यानडा पठाउनु भएको रेडक्रसकै कर्मचारीहरुले बताएका छन । रेडक्रस कर्मचारीले दिएको जानकारीअनुसार कार्यकारी निर्देशक ढकालले आर्थिक लाभका आधारमा अहिलेसम्म झण्डै १ सय जनालाई अमेरिका र क्यानडा पठाइसक्नु भएको छ । उनीहरु सवै उतै लुकेर बसेका छन ।

रेडक्रसको लेटरप्याडमा भिसा आवेदन गरे सहजै प्राप्त हुने भएकाले स्वयंसेवक, कर्मचारी, कार्यसमिति सदस्य भएर छिर्नेको संख्या ठूलो पाइएको छ । रेडक्रसमा कार्यरत दर्जनौँ कर्मचारी त्यही माध्यमबाट अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत देशमा बसोबास गरिसकेका छन् ।

विभिन्न दूतावासलाई आग्रह गरिने अनुरोधपत्रमा भिसा दिन सकारात्मक होस् भन्ने नियतले रजिस्ट्रेशन शुल्क, दैनिक भ्रमण भत्ता, हवाईलगायत विविध खर्च रेडक्रसले नै बेहोर्ने प्रतिबद्धतासमेत जनाएको हुन्छ । तर खर्चचाहिँ विदेश जानेले नै बेहोरेका छन् । रेडक्रसमा आबद्ध भएका हुन् वा नभएकालाई भिसा प्राप्तिका लागि पत्र लेखिदिएबापत ठूलो आर्थिक लेनदेन हुने गरेको स्रोतले जनाएको छ ।