जनता टाइम्स

३० बैशाख २०८०, शनिबार १८:०८

युवा नेताहरुलाई अध्यक्ष ओलीको जवाफ : संघीयताबारे पुनर्विचार गर्न सकिन्न


काठमाडौं, बैशाख ३० । नेकपा एमालेले संघीयताका विषयमा पुनर्विचार नगर्ने निर्णय लिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने निर्णय सुनाउनु भएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्यहरु महेश बस्नेत, गोकुल बाँस्कोटा,निरु पाल र केन्द्रीय सदस्य ऐन महरले औपचारिक रुपमा प्रदेश र जिसस खारेज गर्नुपर्ने भन्दै संघीयताबिरुद्धआवाज दर्ज गर्नुभएको थियो । जवाफमा ओलीले संघीयताबारे सोच्नै नसकिने प्रष्ट पार्नुभएको हो ।

‘हिजो देखि एउटा हल्ला चलाइएको छ–नेकपा एमालेका चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो । नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो । अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरु चलेका छन् । यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नुभएको छ,’ रिजालले भन्नुभयो ।

रिजालका अनुसार सस्तो खपथका लागि अनावश्यक हल्लाका पछाडि नलाग्न पनि नेताहरुलाई निर्देशन दिनुभएको छ । ‘हाम्रो पार्टीको बैठक निश्चित एजेण्डाका आधारमा अगाडि बढेको छ । संघीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । र, संघीयताको बारेमा हाम्रो पार्टीमा कुनै छलफल पनि भएको छैन । कुनै साथीहरुले समूहमा उभिँदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय हो जस्तो गरी जुन ढंगले प्रचार गरिएको छ । यो गलत छ । अध्यक्ष कमरेडले यसको आलोचना गर्नुभएको छ’ रिजालले भन्नुभयो ।

एमाले संविधान निर्माता पार्टी हो भन्दै रिजालले संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरुलाई चलाउने काम एमालेबाट नहुने बताउनु भयो । ‘यो कुरा हाम्रो पार्टीको अध्यक्ष कमरेडले आज बहुत स्पष्ट ढंगले पार्टीको केन्द्रीय कमिटी बैठकमा निर्देशन गर्नुभएको छ । र, सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई केन्द्रीय कमिटीका आधिकारिक निर्णयहरु बोकेर जान आग्रह गर्नुभएको छ’ रिजालको भनाई छ ।