काठमाडौं, बैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका अर्का नेताबिरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । कांग्रेस नेता एवं पूर्वसभासद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
रामेछापका शेर्पाविरुद्ध काठमाडौं प्रहरी परिसरले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटी तात्कालिन गृहमन्त्री बालकृष्ण खाणको नाम नलिन मध्यस्थताको काम गरेको आरोप छ ।
खाण बचाउने लागेको र नक्कली भुटानी शरणार्थी प्रकरणमा आफै संलग्न भएको प्रमाण पाएपछि शेर्पाबिरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो ।
यस प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ सांसद आरजु राणा देउवा र अर्की सांसद मञ्जु खाणको पनि संलगनता देखिएको छ । पति बालकृष्ण खाण पक्राउपरेलगत्तै पत्नी मञ्जु फरार हुनुभएको छ भने आरज पतिको आडमा अनुसन्धानलाई प्रभाव पार्दै आफू जोगिने अभियानमा लाग्नुभएको छ ।
२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गर्नुभएको थियो । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ ।
सोही क्रममा शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेट गनुभएको हो । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ ।
अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले भन्नुभयो, ‘केशव दुलाल र सानु भण्डारी थुनामा परेपछि उनीहरूका दाजु–भाइसँग शेर्पाले बालकृष्ण खाँणले लिएको रकम फिर्ता गर्ने कागज समेत गरेको थाहा भएको छ ।’ तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाउनुभएको छ । थुनामै रहेका केशव दुलाल मार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उहाँले अनुसन्धान अधिकृतहरूलाई बताउनुभएको हो । बयानमा उहाँले भन्नुभएको छ ‘मन्त्री खाँण र सचिव पाण्डेका लागी एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’
१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि प्रहरीले बालकृष्ण खाँणलाई प्रहरीले वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुना हुनुहुन्छ । खाँणका स्वकिय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुना रहनुभएको छ । केसीलाई प्रहरी वृत लैनचौरको हिरासतमा राखिएको छ ।













प्रतिक्रिया दिनुहोस्