काठमाडौं, बैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन पूर्वमन्त्री एवं नेकपा एमालेका नेता टोप बहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझीलाई काठमाडौंबाटै प्रहरीले पक्राउ गरेको हो ।प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार हुनुहुन्थ्यो । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आउनु भएका रायमाझी त्यहीँबाट फरार हुनुभएको थियो । सोही साँझ उहाँका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।
यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।














प्रतिक्रिया दिनुहोस्