जनता टाइम्स

१ जेष्ठ २०८०, सोमबार १८:२०

शंकर पोखरेलको चुनौती : हरेक घटनामा निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकार आँट गर्छ ?


काठमाडौं, जेठ १ । नेकपा एमाले महासचिव शंकर पोखरेलले मूलकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले नेकपा एमाले मूलकमा सुशासन, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका पक्षमा दृढ अडानका साथ काम गर्ने पार्टी भएको बताउनु भयो । स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षामा चौतर्फी आक्रमणको प्रयास भइरहेको बेला एमालेमाथि पनि आक्रमण भइरहेको उहाँले बताउनुभयो ।

मुलुकका भ्रष्ट र कमिसन खोरहरूले नेकपा एमालेलाई लाञ्छित गर्ने कुचेष्टा गरिरहेका भन्दै उहाँले कडा चुनौती दिनुभयो । ‘हरेक घटनाका सन्दर्भमा निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न यो सरकार के आँट गर्दछ ? नेकपा एमाले त्यसमा सहयोग गर्न तयार छ’, पोखरेलले भन्नुभयो ।

विगतमा सरकारले व्यक्तिगत स्वार्थमा देशको बजेट र कार्यक्रमलाई सौदाबाजी गरेको कारण अहिले देश गम्भीर आर्थिक संकटमा परेको उहाँले बताउनुभयो । सोही कारण एउटा व्यापारी घरानाको आम्दानी ४० अर्ब वृद्धि भएको उहाँले सुनाउनुभयो । ‘एउटा व्यापारी घरानाको वार्षिक आम्दानी ४० अर्ब वृद्धि हुने, देश टाट पल्टने, यस प्रकारको भ्रष्टतामा सरकारले कारबाही गर्ने आँट गर्छ कि गर्दैन ?,’ उहाँले प्रश्न गर्नुभयो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा देश बदनाम भएको पोखरेलले बताउनुभयो । सो घटनामा गल्ती एउटाले गर्ने दोष अर्कालाई लगाउने प्रयत्न भएको भदै उहाँले आलोचना गर्नुभयो ।

परमादेश सरकार बनेपछि गृह मन्त्रालयको जिम्मेवारी लिएकाले नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने काम गरेका उहाँले बताउनुभयो । आज जो भ्रष्ट छन् उनीहरूकै ठुलो स्वर भएको उहाँले प्रष्ट पार्नुभयो ।

नक्कली शरणार्थी प्रकरणमा जो जो संलग्न छन् उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनु पर्दछ भन्ने एमालेको मान्यता रहेको उहाँले बताउनुभयो । ‘आज उनीहरूकै स्वर ठुलो छ, जो नेपालमा भ्रष्टताको लागि कुख्यात छन्, उनीहरू आज भ्रष्टाचार विरोधी नेता जस्तो बन्न खोजिरहेका छन्’, उहाँले भन्नुभयो ।

भ्रष्टाचारका घटनालाई राजनीतिकरण नगर्न उहाँले आग्रह गर्नुभयो । उहाँले सबै खालका भ्रष्टाचारका घटनाको छानबिन गर्न सरकारलाई चुनौती दिनुभयो । के यी कुरामा छानबिन गर्न सरकार तयार छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो । नेकपा एमाले सबै प्रकारका घटना छानबिन गर्न तयार रहेको उहाँले प्रष्ट पार्नुभयो । देशलाई टाट पल्टाउनेहरू नै सुशासनका कुरा गर्न लागेका भन्दै उहाँले आलोचना गर्नुभयो ।

नेकपा एमाले सकारमा हुँदा थुप्रै विकास र समृद्धिका कार गरेको उहाँले उदाहरण पेस गर्नुभयो । यसका साथै राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा पनि एमाले नेतृत्वको सरकारले अनेक काम गरेको उहाँले स्पष्ट पार्नुभयो । विकास कस्तो हुन्छ भन्ने कुरा एमाले सरकारमा रहँदा देखाएको उहाँले दाबी गर्नुभयो ।

एमाले सरकारबाट हट्ने बित्तिकै सबै विकासका योजना कटौती गरेको उहाँले प्रष्ट पार्नुभयो । कायरहरूले एमालेलाई रोक्न गठबन्धन गरेको उहाँले बताउनुभयो । एमाले विरुद्ध गठबन्धन गरेर चुनावमा गएका कायरहरू बहुमत पनि गुमाएर फर्किएका उहाँले पोखरेलको भनाइ छ ।

आज सरकारको नेतृत्व सबै भन्दा कमजोर जनमत भएको पार्टीका हातमा रहेको उहाँले बताउनुभयो । माओवादीसँग जम्माजम्मी ११ प्रतिशत मतदाताको जनमत मात्र भएको उहाँले प्रष्ट पार्नुभयो ।

ठुला पार्टी बाहिर बस्ने तर साना पार्टीले राज्यको बागडोर सम्हालेर देशको आर्थिक प्रगति नहुने उहाँको भनाइ छ । साना दलले राष्ट्रको दोहन गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने बाहेक अरू काम नगर्ने उहाँले बताउनुभयो ।