जनता टाइम्स

१ जेष्ठ २०८०, सोमबार १९:१२

आरजु-मञ्जु-हिसिला नेपालका रानी, भ्रष्टाचारका खानी हुन : महेश बस्नेत


काठमाडौं, जेठ १ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेविरुद्ध भ्रम फिँजाउन लागेका सबै शक्तिलाई परास्त गर्दै समृद्ध नेपाल, सुखी नेपालीको अभियान पूरा गरेरै छाडने उदघोष गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै संगठनको इञ्चार्ज समेत रहनुभएका बस्नेतले एमाले विरुद्ध भ्रम फिँजाउन लागेका सबै शक्तिलाई परास्त गर्ने बताउनु भएको हो । ‘सतिसाल जतिसुकै ठुलो आधी हुरी आए पनि उभिने छ, नेकपा एमाले राष्ट्रिय राजनीतिको सतिसाल हो’, उहाँले भन्नुभयो ।

बस्नेतले राष्ट्रिय युवा संघ नेपालले आउने निर्वाचनमा एमालेलाई बहुमतमा पुर्याउने अभियान चलाउने जानकारी पनि दिनुभयो । यसको लागि संगठन नयाँ युवाको बिचमा जाने उहाँले बताउनुभयो । युवामा रहेको ऊर्जालाई एमालेले मर्न नदिने भन्दै उहाँले समाजका जुनियर र विभिन्न क्षेत्रमा योगदान पुर्याएको युवाको माझमा अब राष्ट्रिय युवा संघ नेपाल जाने बताउनुभयो ।

नेपालको राजनीतिमा सबै राजनीतिक दललाई उछिनेर एमालेले ३५ वर्ष मुनिका युवालाई पार्टीका सबै संगठनमा ३० प्रतिशत सिट निर्धारण गरेको पनि बस्नेतले बताउनुभयो । नेकपा एमाले विरुद्ध मरिसकेको राजसंस्थाको भूत बोकेर हिँडेकाको एमाले सशक्त प्रतिवाद गर्ने उहाँले प्रष्ट पार्नुभयो । युवा संघ नेपाल अब युवालाई प्रशिक्षित बनाएर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

राष्ट्रिय युवा संघ नेपाललाई देशको सबैभन्दा मजबुत संगठन बनाउने उहाँले प्रष्ट पार्नु भयो । एमाले र राष्ट्रिय युवा संघ नेपाल विरुद्ध आउने तत्वलाई बाँधेर सडकमा लडाउने उहाँले चेतावनी दिनुभयो । एमाले विरुद्ध सामाजिक सञ्जालमा भ्रम फैल्याउने विरुद्ध फेरी पनि राष्ट्रिय युवा संघको साइवर सेना जाग्ने उहाँले प्रष्ट पार्नुभयो ।

साइवर सेनाले सबै खालका भ्रम चिर्न आफ्नो शक्ति प्रयोग गर्ने उहाँले बताउनुभयो । सस्तो लोकप्रियतामा रमाउन खोज्ने नव उदारवादी शक्तिका विरुद्ध एमाले र राष्ट्रिय युवा संगठन नेपाल सशक्त रूपमा उत्रिने उहाँले बताउनुभयो । पछिल्लो समय भ्रष्टाचार विरुद्ध एउटा चेतना बढेको उहाँले बताउनुभयो । नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालले भ्रष्टाचार विरुद्ध चलाएको अभियानको कारण यो सचेतना आएको उहाँले दाबी गर्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको र उहाँले हिजो प्रहरी समक्ष आत्मसमर्पण गरेकोमा धन्यवाद दिनुभयो । उहाँले कांग्रेसलाई बालकृष्ण खाँडलाई किन निलम्बन गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो ।
विभिन्न प्रकरणमा आर्थिक अनियमिततामा परेको माओवादी र त्यसका नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा करको दर हेरफेर गरेको घटना पनि उहाँले स्मरण गराउनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीको दबाबमा महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा समेत आर्थिक अनियमितता भएको उहाँले बताउनुभयो । पूर्वलडाकुको प्रकरणमा प्रचण्ड र बाबुराम भट्टराईले ४ अर्ब बढी घोटाला गरेको भन्दै छानबिन गर्न उहाँले चुनौती दिनुभयो । मुसाले तार खायो भनेर सीसीटीभी फुटेज गायब गर्ने र अजय सुमार्गीको नामबाट नेपालमा पैसा ल्याउने घटनामा संलग्न माथि छानबिन गर्न उहाँले आग्रह गर्नुभयो ।

सस्तो लोकप्रियतामा रमाउन चाहने रवि लामिछाने माथि पनि असंख्य प्रश्न रहेको उहाँले बताउनुभयो । ढाकाराम श्रेष्ठको २ करोड प्रकरण मात्र होइन, नेपाली राष्ट्रिय परिचयपत्रको डटा फ्रान्सको साम्राज्यवादी कम्पनीलाई दिएको, दोहोरो राहदानी, प्रहरी सरुवामा लेनदेन तथा क्रसर खोल्ने र बन्द गर्ने प्रकरणमा भएको लेनदेनमा रवि लामिछाने माथि छानबिन गर्न पनि उहाँले चुनौती दिनुभयो ।

उहाँले ओम्नी, यती, बालुवाटार लगायतका फेक प्रकरणका नाममा एमालेलाई बदनाम गराउने प्रयत्न भएको बताउनुभयो । कुनै फेक काण्ड देखाएर एमालेलाई तर्साउन खोज्ने कुचेष्टा नगर्न उहाँले चेतावनी दिनुभयो । ‘हिम्मत भए छानबिन गरेर देखाऊ’, उहाँले भन्नुभयो ।

 

नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी ओली पत्नी राधिका शाक्य र केपी ओलीलाई समेत जोड्ने दुश्प्रयत्न गरेको भन्दै उहाँले कुनै पनि हिसाबबाट त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो । नेपाली नागरिकलाई भ्रष्टाचार विरुद्धको पुरस्कृत गर्नु पर्यो भने पहिलो नाम राधिका शाक्यको आउने बस्नेतको भनाई छ ।

त्यसको विपरीत नेपालका रानी र भ्रष्टाचारका खनीको नाम अन्य नेताका पत्नीहरूसँग जोडिने बस्नेतको भनाई छ । ‘नेपालका रानीहरू, भ्रष्टाचारका खानीहरू को को हुन् भनेर सोध्यो भने आरजु देउवा, मञ्जु खाँड, हिसिला यमी लगायतका नाम आउँछ’, उहाँले भन्नुभयो ।
राजकीय शासन सत्तामा राधिकाले कहिल्यै पनि र्याल नकाढेको उहाँले बताउनुभयो ।

केपी ओलीले आफ्नो सम्पत्ति राष्ट्रको नाममा गरेको उहाँले स्मरण गराउनुभयो । केपी ओलीको आफैँले जन्माएका छोरा छोरी नभएका बताउँदै सबै देशवासी उहाँका छोरा छोरी भएको बस्नेतले बताउनुभयो ।