जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार १३:४७

बालकृष्ण खाणसहित भुटानी शरणार्थी प्रकरणका आरोपी सवैलाई निलम्बन गर्नूपर्छ : शेखर कोइराला


काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै पार्टीको नेतृत्वबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको तथ्य खोल्नुभएको छ ।

प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई आज सम्बोधन गर्दै कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई ढाकछोप गर्न खोजे कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने चेतावनी समेत दिनुभएको छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण निकै ठूलो अपराध हो, यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ ? भन्ने कुरा अहिले म भन्न सक्दिनँ । कांग्रेसमात्रै होइन, देशकै अवस्था नाजुक भएर जान्छ,’ कोइरालाले भन्नुभयो, ‘यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो । नेपालका प्रहरीले जुन तागत पाइसकेका छन, त्यो त्यसै आइरहेको छैन भन्ने पनि बुझौं ।’

दोषीलाई कारबाही हुनैपर्ने बताउँदै उहाँले यस प्रकरणमा मुछिएपछि बालकृष्ण खाणलाई तत्काल निलम्बन गरेर जानुपर्ने बताउनु भयो ।
‘यो मुद्दालाई कमजोर बनाउनका लागि अरु मुद्दाहरू ल्याइएला भन्ने चिन्ता लागेको छ । त्यतातिर पनि ध्यान जान जरुरी छ । यो मुद्दाले नेपालको सार्वभौमिकतामाथि नै प्रहार भइरहेको छ । देशको नागरिकलाई अनागरिक बनाएर मानव बेचबिखन गर्नेभन्दा लज्जास्पद केही हुन सक्दैन,’ कोइरालाको भनाई थियो ।

उहाँले आफ्नो सम्बोधनमा सभापति शेरबहादुर देउवा नै यस प्रकरणका दोषीलाई उन्मुक्ति दिने काममा लागेको आशंकासमेत गर्नुभएको छ ।