जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १३:३७

विदेशमा पढ्न जाँदा ९ महिनामा ६७ अर्ब १९ करोड बाहिरियो : प्रधानमन्त्री


काठमाडौं, जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदेसमा बिद्यार्थी पढन जाँदा ९ महिनामा ६७ अर्ब १९ करोड बाहिरिएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरूले प्रश्न सोधेका छन । बैठकको सुरूमै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकारी विद्यालय सुधार गर्नेजस्ता विभिन्न विषयमा प्रश्न गर्नुभयो ।

‘सरकारी स्कुल सुधार गर्ने र युवालाई स्वदेशमै रोजगारी दिने सरकारको नीति के छ ?,’ न्यौपानेले प्रश्न गर्नुभयो, ‘विदेश पढ्न जाँदा नेपालको कति रुपैयाँ विदेसिन्छ ? ’

उहाँले एक वर्षमा रमिट्यान्स कति भित्रन्छ भन्ने पनि प्रश्न गर्नुभयो । मल कारखाना खोल्ने नीति के छ जस्ता प्रश्न उनको थियो।

सांसद न्यौपानेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७९/२०८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा रू ६७ अर्ब १९ करोड बाहिरिएको जानकारी दिनुभयो । यस्तै यो अवधिमा रू ९०३ अरब ३९ करोड रेमिट्यान्स प्राप्त भएको र यो गत वर्षको भन्दा २४.२ प्रतिशत वृद्धि भएको प्रधानमन्त्रीको भनाइ थियो।

 

प्रधानमन्त्रीले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो । विद्यालयको संरचनागत र भौतिक सुधारमा स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्ने उहाँको भनाई थियो । यस्तै प्रधानमन्त्रीले रासायनिक मल उत्पादन गर्नका लागि विभिन्न प्रस्ताव लगानी बोर्डमा आएको र ती प्रस्तावका आधारमा अध्ययन गरी मल कारखाना खोलिने बताउनु भयो ।