काठमाडौं, जेठ ४ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको बिस्तार गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले उर्जामा सबैको सहभागिताको सुनिश्चितता र उर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले विद्युतीय सामग्रीहरुको प्रयोगले वातावरण स्वच्छ हुने बताउनु भयो । उहाँले विद्युतीय सवारीसाधनको बिस्तारका लागि चार्जिङ स्टेशन वृद्धि गर्न आवश्यक रहेको भन्दै सरकार चार्जिङ स्टेशन वृद्धि गर्नेकुरामा प्रतिवद्ध रहेको बताउनु भयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘उर्जामा सबैको सहभागिताको सुनिश्चितता गर्ने र उर्जा सुरक्षाको सवाललाई सुनिश्चित गर्ने प्रसंग, जलश्रोतमा आधारित उर्जा वा स्वच्छ उर्जाबाट मुलुकको समृद्धिको कुरा गरिराखेका छौँ । वातावणीय स्वच्छताको दृष्टिले होस्, यसलाई बिस्तार गर्नु, व्यापक बनाउनु यो सरकारको प्राथमिकतामा छ, यातायातको क्षेत्रमा विद्युतीय यातायातको साधनहरुलाई प्राथमिकतामा छ । बिस्तार गर्नेकुरा प्राथमिकता छ । यसको लागि देशभर चार्जिङ स्टेशन वृद्धि गर्न आवश्यक छ । यसलाई बिस्तार गर्ने विद्युतीय यातायात बिस्तार गर्नेकुरा सरकारको प्राथमिकतामा छ । काठमाडौं उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा चर्चामा छौँ, यसलाई सञ्चालनमा ल्याउने कुरामा सरकार प्राथमिकताकासाथ सोचिरहेको छ।’
मन्त्री बस्नेतले काठमाडौं उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा सरकारले अध्ययन गरीरहेको र सञ्चालनमा ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्