जनता टाइम्स

७ जेष्ठ २०८०, आईतवार १४:४४

ओलीको प्रश्न ओम्नी र बालुवाटार जग्गा काण्डको छानबिन गर्न कसले रोक्यो ?


काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओम्नी, बालुवाटार जग्गासहितका काण्डको छानबिन गर्न सरकारलाई कसले रोक्यो भनेर प्रश्न गर्नुभएको छ । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा सहभागी हुँदै उहाँले तथाकथित ओम्नी खरिद काण्डको छानबिन गर्न कसले रोक्यो भन्दै प्रश्न गर्नुभएको हो ।

सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता लिने बताएको भन्दै उहाँले बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद् काण्ड, वाइडबबडी काण्ड, क्यान्टोनमेन्ट प्रकरणलगायतका विषयमा अनुसन्धान गर्न सरकारलाई कसले रोकेको भन्दै प्रश्न गर्नुभएको हो ।

एमाले सबै कालखखण्डमा भएका भ्रष्टाचारका विषयमा छानबिन गर्न तयार रहेको र यसमा सरकारलाई सहयोग गर्न पनि तयार रहेको ओलीको भनाइ छ । त्यस्तै उहाँले दातृ निकायसँगको ब्रिफिङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजश्व संकलनमा कठिनाई भएको भन्न मिल्छ भनेर पनि प्रश्न गर्नुभएको थियो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ । यो गर्न मिल्छ ?’ राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहारेको भन्दै आपत्ति जनाएका अध्यक्ष ओलीले थप्नुभयो,‘राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहार्न मिल्छ ?’