जनता टाइम्स

७ जेष्ठ २०८०, आईतवार २१:१०

निःशुल्क स्वास्थ्य, शिक्षा र उद्यमशीलतासहितको रोजगार नै जनताको अधिकार हो : नेता महर


काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निःशुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित तथा सर्वसुलभ यातायात र सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार जनताको अधिकार भएको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय समितिले चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले आजको आवश्यकता निस्शुल्क स्वास्थ्य, शिक्षा र उद्यमशीलतासहितको रोजगार नै भएको बताउनुभयो ।

‘हामी समृद्धि र सुशासनको कुरा गरिरहेका छौं। त्यसका लागि आवश्यक पर्ने सूचक के–के हुन् भन्नेतर्फ हाम्रो ध्यान जान सकेको छ कि छैन ? प्रमुख कुरा हो । मैले माथि भनेका कुरा जनताका नैसर्गिक अधिकार हुन् । हामीले जनताका अधिकारको प्रत्याभूति नगराउँदासम्म सुशासन र समृद्धिको जतिसुकै रटान लगाउँदा पनि केही हुँदैन,’ उहाँले भन्नुभयो । यसका साथै देश बनाउने जिम्मा कुनै एक व्यक्तिको मात्र नभएको बताउँदै उहाँले प्रत्येक मानिस राष्ट्र र राष्ट्रियताको सवालमा गम्भीर हुनुपर्ने औंल्याउनुभयो ।

‘नेपाल निर्माण गर्ने जिम्मा एक व्यक्तिको मात्र होइन । त्यसमा विद्यार्थी, जनता सबैको हातेमालो आवश्यक छ। देश बनाउन सबैभन्दा पहिला जनताको सहयोग चाहिन्छ,’ उहाँले भन्नुभयो । उहाँले विद्यार्थीको काँधमा पढ्नेमात्र नभएर देशको जिम्मेवारीसमेत रहेको बताउनुभयो । युवा पुस्ता देशप्रति गम्भीर नहुँदा मुलुकले नकारात्मक परिणाम भोग्ने उहाँको भनाइ थियो । ‘हामी सबै देश बनाउने कुरामा गम्भीर हुनुपर्छ । कसैले गलत गर्दा सच्याउन सुझाव दिइहाल्नुपर्छ । विद्यार्थी भनेको त देशको थप शिक्षित जनशक्ति हो । उ त गम्भीर हुनैपर्छ,’ उहाँले भन्नुभयो ।

समयको माग अनुसार शिक्षालाई उत्पादन र स्वरोजगारसँग जोड्न सकेमात्र युवा पलायन रोकिने कुरामा जोड दिँदै महरले कृषि प्रधान देशमा वार्षिक रूपमा करिव तीन खर्ब बढीको कृषिजन्य वस्तु आयात हुनु दुर्भाग्य भएको बताउनुभयो । नेपालको शैक्षिकलगायत सबै सकारात्मक परिवर्तनका सवालमा नेपाली कांग्रेस पार्टीको अहम योगदान रहेको कुरामा जोडदिँदै उहाँले वर्तमान सरकारका सवै कदममा गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसको सहभागिता रहेको प्रस्ट पार्नुभयो ।