जनता टाइम्स

८ जेष्ठ २०८०, सोमबार १६:५०

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी हुन प्रहरीले किटानी गरेको फरार १७ सहित ३३ अभियुक्त (सूचीसहित)


काठमाडौं, जेठ ८ । प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । काठमाडौं प्रहरीले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई आज प्रतिवेदन बुझाएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई प्रतिवादी बनाएको छ ।

प्रहरीबाट अनुसन्धान सकेर मुद्दाको फाइल प्राप्त भएको जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले बताउनु भयो । अनुसन्धानमा देखिएको आधार प्रमाणलगायतका विषयको विश्लेषण गर्ने र जेठ १० गतेअघि नै अदालतमा जाने उहाँको भनाई छ । संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सक्ने अवस्था रहेको र अन्य विषयमा अध्ययन गरी निर्णय गरिने पनि न्यौपानेले बताउनु भयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय खाण र रायमाझीसहित सचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । यस प्रकरणमा १७ जना भने फरार छन । प्रहरीले पक्राउ परेका १६ जना र फरार १७ जनालाई अभियुक्त बनाएको छ ।

नक्कली भुटानी शरणाथी प्रकरणमा खाण, रायमाझी, पाण्डेसहित इन्द्रजीत राई, टेकनान रिजाल, आङटावा शेर्पा, सन्दीप रायमाझी पक्राउ परिसकेका छन । यस्तै गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, शमशेर मियाँ, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, शमशरण केसी, नरेन्द्र केसी र गोबिन्द चौधरीलाई पनि पक्राउ गरिसकेको छ ।

प्रहरीले पक्राउ परेका १६ जनासहित फरार १७ जना अभियुक्तमाथि मुद्धा चलाउन प्रतिवेदनमा सिफरिश गरेको काठमाडौं प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जनताटाइम्स डटकमलाई जानकारी दिनुभयो । एसएसपी कार्कीका अनुसार प्रहरीले सत्य तथ्य अनुसन्धानका आधारमा अभियुक्तहरु किटानी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापासहित १७ जना फरार रहेको प्रहरीको प्रतिवेदनले औल्याएको छ ।

फरार अभियुक्तको सूचीमा केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहनराजराई, दीपा हुमागाई, सुनिल बुढाथोकी, बिनिता साङदेङ लिम्बु, निरञ्जनकुमार खनाल, हरिभक्त महर्जन, अकोश पोखरेल, निरज राई, आषिश बुढाथोकी, गोकुल थापा, रमा थापा र बेचन झा रहेका छन । प्रहरीले उनीहरु फरार रहेको जनाई मुद्धा दायर गर्न सुझाएको छ ।