जनता टाइम्स

८ जेष्ठ २०८०, सोमबार १८:५५

मुलुकमा साम्प्रदायिक विद्धेष फैंल्याउने षडयन्त्र भइरहेको छ, त्यसबाट जोगिएर अघि बढनुपर्छ : केपी ओली


काठमाडौं, जेठ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन ुपर्नेमा जोड दिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनु भएको हो । उहाँले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदूपयोग गर्दै अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयाजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने पनि पटकपटक दोहोर्याउनु भयो । मुलुकमा साम्प्रदायिक विद्धेष फैंल्याउने षडयन्त्र भईरहेको उल्लेख गर्दै उहाँले त्यसबाट जोगिएर अघि बढनुपर्ने पनि बताउनु भयो । ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेश गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादको पक्षमा लाग्न नहुने बताउनु भयो ।

‘विविधताको देश हो । हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरु पनि छन । यसलाई हामीले, नेपालीहरु सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ,’ उहाँले भन्नुभयो, ‘यो सम्पत्तिको हामीले त्यसै अनुसार सकारात्मक सदूपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ । यसलाई परस्परमा विद्धेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म । कहिले एउटै धर्म भित्र पनि ्यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन ।’

उहाँले धर्मका नाउमा लडने अवस्था आउन नदिन पनि सवैलाई सचेत गराउनु भयो । ‘धर्मका नाउमा ठूलाठूला लडाईंहरु भएका छन । धर्मका नाउमा देश विनाश भएका छन । धर्मका नाउमा मानिसहरु मारिएका छन । त्यसकारण हामीले अतिमा जानु हुँदैन । नकारात्मक सोचमा जानु हुँदैन । र, हाम्रो देश विविधतायुक्त देश हो हरेक हिसावले । यो सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानतासहितको सदभावसहितको, पारस्पारिक सदभावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ ।’

अध्यक्ष ओलीले कहिलेकाही राजनीतिक स्वार्थका लागि यस्ता प्रयोग हुने गरेको भन्दै त्यसबाट बच्नुपर्ने बताउनु भयो ।

‘कहिलेकहिले राजनीतिक स्वार्थहरुका लागि अरु स्वार्थ होइन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ । गरिएको छ । र, जनता मराएर, देश सिध्याएर धर्मको नाममा राजनीतिक रोटी सेक्ने कामहरु भएका छन । र, हामीले के बुझ्नु पर्छ भने अरुले भडकाई दिएको भरमा, अरुले उचालिदिएको भरमा, अरुले हामीलाई भावनामा बगाईदिएको भरमा हामी उचालिनु, बग्नु हुँदैन,’ ओलीले भन्नुभयो, ‘हामी सामाजिक सदभाव कायम गरौं, राष्ट्रिय एकता सुदृढ गरौं । त्यो भावनाका साथ अगाडि बढनु पर्दछ । मैले देखेको छु–समयसमयमा साम्प्रदायिक विद्धेषहरु नेपालमा पनि भडकाउन खोजिएको छ । भडकाईएको छ । मान्छे मराइएको छ । झगडा लगाइएको छ । यस्ता कुराहरु भएका छन । यसभित्र भड्काउनका लागि अनेक षडयन्त्रहरु भएका छन । त्यस्ता षड्यन्त्रहरुबाट पनि हामी जोगिनु पर्दछ ।’

अध्यक्ष ओलीले नेपालीहरुबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सदभाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराउनु भयो ।