जनता टाइम्स

९ जेष्ठ २०८०, मंगलवार १६:३४

कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै माईतीघरमा नर्सहरुको धर्ना


काठमाडौं, ९ जेठ । अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले धर्ना दिएका छन् । आज काठमाडौंको माईतीघर मण्डलामा विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमवारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् ।

आजपनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन् । उनीहरुले न्युन तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरुको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् । धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरुको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताउनुभयो ।

उहाँले न्युन तलबमा क्षमता भन्दा बढी बिरामीको हेरचाह गरेपनि कामको मूल्याङ्कन हुन छोडेको बताउनुभयो । उहाँले पछिल्लो समय नर्सहरु सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने बताउनुभयो ।