जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १४:१५

रामपुरमा व्यावसायिक फूलखेती शुरु


पाल्पा, भदौ १२

पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गर्नुभएको हो । दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर राख्दै थापाले एक महीनाअघिदेखि फूलखेती शुरु गर्नुभएको छ । उहाँको नर्सरीमा मखमली र सयपत्री जातका करीब चार हजार फूलका बिरुवा रहेका छन् ।

रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको मालाको खपत बढ्न थालेको देखेपछि फूलखेती शुरु गरेको थापाले बताउनुभयो । बिरुवाको माग राम्रै भएकाले अर्को वर्ष व्यवसाय बढाउने थापाको सोंच छ । उहाँको नर्सरीमा फूलका बिरुवा खरीद गर्न र हेर्न जानेको चहलपहल बढ्दो छ । एक बिरुवाको रु २० मा बिक्री हुँदै आएको छ ।

विदेशबाट फर्केर दुई वर्षदेखि गाउँमा तरकारीखेती शुरु गर्नुभएका थापाले यो वर्ष फूलखेतीलाई पनि अगाडि बढाउनुभएको हो । एक महीनाअघि एकहप्ते व्यावसायिक पुष्पखेती, नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी तालीम लिएर फर्केपछि फूलखेतीमा सौख बढेको उहाँले बताउनुभयो । घरको सौन्दर्यका लागि बनाइएका बगैँचा र गमलाका लागि आवश्यक बिरुवा तयार गर्ने उहाँको भनाइ छ ।

हाइब्रिड जातको मखमली र हाइब्रिडसँगै उन्नत जातको सयपत्री फूल उहाँले लगाउनुभएको छ । यहाँको उर्वरा कृषि समूह काँसजरीले एक हजार फूलका बिरुवा खरीद गरेर लगाएको छ । तिहार पर्वमा फूल उत्पादन गरेर बिक्री गर्ने गरी समूहले थापाको नर्सरीबाट बिरुवा खरीद गरी लगाउन शुरु गरेको सीमादेवी रानाले बताउनुभयो ।

समूहका १८ जना महिलाले एक रोपनी बढी जग्गामा फूलखेती शुरु गरेको रानाको भनाइ छ । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ । फूलको महत्व प्रति स्थानीयले चासो नदिँदा गाउँघरमै लोप हुन थालेको पाइएको छ ।