जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १४:३४

पार्टीले आवश्यक ठाने बामदेव गौतमलाई कास्कीबाट उठाउन सक्छ : महासचिव पौडेल


काठमाडौं, भदौं १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलले आगामी मंसीरमा हुनगइरहेको उपनिर्वाचनमा उपाध्यक्ष बामदेव गौतम चुनाव लडन सक्ने संकेत गर्नुभएको छ । गौतमले चाहना गरेको अवस्था र पार्टीले निर्णय भएमा रिक्त रहेको कास्कीबाट उििनर्वाचनमा उम्मेद्वार बनाउन सकिने महासचिव पौडेलले खुलासा गर्नुभएको हो ।

‘खालि भएका कुनै पनि स्थानीय, प्रदेश र संघमा हुने उपनिर्वाचनको विषयमा उम्मेदवारका सन्दर्भमा छलफल भएको छैन । वामदेव कमरेड आफैंले कुनै इच्छा वा आशय गर्नुभएको छैन,’ गौतमलाई प्रतिनिधिसभाका सदस्यमा रिक्त रहेको कास्कीमा उम्मेदवार बनाउने छलफल सुरु भयो भनिँदैछ, यथार्थ के हो ? भन्ने प्रश्नमा महासचिव पौडेलले भन्नुभयो, ‘समय नजिकिँदै जाँदा छलफल भई आवश्यक निर्णय हुनेछ । पार्टीले आवश्यक ठान्यो भने कामरेडलाई उठाउने निर्णय गर्न सक्छ । तर अहिलेसम्म उहाँले इच्छा व्यक्त गर्नुभएको पनि छैन । पार्टीले निर्णय गरेको पनि छैन ।’

महासचिव पौडेलका अनुसार बामदेव गौतमको क्षमताकै आधारमा उपाध्यक्षमा बढुवा गर्ने निर्णय सचिवालयले लिएको हो । प्रधानमन्त्रीले वामदेव गौतमलाई उपाध्यक्ष, पहिलोपटक अर्का अध्यक्ष पुष्पकमल दाहाललाई थप अधिकार दिने क्रमसँगै भित्री सहमतिमा काम गरेको भनिँदै छ, खासमा के हो ? भन्ने प्रश्नमा महासचिवले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार वामदेव गौतम मुलुक र दललाई महत्त्वपूर्ण योगदान दिएका नेता हुनुहुन्छ। भूमिगतकालदेखि हेर्ने हो भने उहाँका काम महत्ववपूर्ण छन्। आन्दोलनको मोर्चामा उहाँ सधैं अग्रधारमा अघि बढेको व्यक्ति हुनुहुन्छ ।

जेलभित्रसमेत उहाँको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । उहाँले दमौली जेल विद्रोहको योजना बनाउनुभएको थियो। पोखरा जेल सारेपछि साथीहरूले उहाँकै योजना कार्यान्वयन गर्नुभयो। उहाँले देश, जनता र पार्टीका लागि खेलेको भूमिकाको कारणले उपाध्यक्षका निम्ति प्रस्तावित गरिएको हो। कामरेड दाहाल हाम्रो दलको अध्यक्ष हुनुहुन्छ। उहाँले पार्टीको बैठक राख्ने र आवश्यक निर्णय लिने सामान्य प्रक्रिया हो।

प्रधानमन्त्री सरकार सञ्चालनमा र अन्य महत्त्वपूर्ण काममा व्यस्त रहनुपर्दा आपसी परामर्शमा उहाँले प्रधानमन्त्री काठमाडौंमा हुँदा पनि बैठक राख्न सक्नुहुन्छ । प्रधानमन्त्री उपचारका लागि बाहिर जानुभएको छ। त्यो अवस्थामा आवश्यकताअनुरूप बैठक राख्नुभएको छ ।