जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार २१:२२

बजेटले समस्या चिनेन, समाधान पनि दिएन, कार्यान्वयन हुने सम्भावना पनि छैन : पूर्वअर्थमन्त्री पौडेल


काठमाडौं, जेठ १५ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकका समस्या चिन्न र समाधान दिन नसकेको बताउनु भएको छ । संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले चलनचल्तीका कार्यक्रमहरूको घोषणाबाहेक बजेटमा अरू केही हुन नसकेको बताउनु भयो ।

‘बजेटले मुलुकका समस्यालाई चिन्न सकेन । समाधान पनि दिन सकेन । चलन चल्तीका कार्यक्रमको घोषणाबाहेक अरू केही हुन सकेन,’ पौडेलले भन्नुभयो, ‘आगामी आर्थिक वर्षको बजेटले आमजनतामा आशा उत्साह दिन सकेन ।’

पौडेलले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई समाधान दिन बजेट असफल भएको बताउनु भयो । ‘अर्थतन्त्र जुन संकटको अवस्थामा छ, बन्दीमा छ, यो सच्याइलाई बुझेर जुन हाइटबाट समाधान दिनुपर्थ्यो, त्यो दिन सकेन,’ पौडेलको भनाई छ । उहाँले बजेट कार्यान्वयन हुने कुनै सम्भावना नरहेको पनि बताउनु भयो ।

‘राजस्व परिचालनको दृष्टिले चालू आर्थिक वर्षमा जुन दर्दनाक अवस्था छ, आउने आर्थिक वर्षमा १२ खर्ब ४८ अर्बको राजस्व परिचालनको यसले अनुमान गरेको छ, न यसले प्रक्षेपण गरेको राजस्व परिचालन गर्न सक्छ, न यसले प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सक्छ । न यसमा खर्चका निम्ति जुन प्रस्ताव गरिएको छ, तदनुकुलको खर्च न प्रबन्ध गर्न सक्छ,’ पौडेलले भन्नुभयो ।

पौडेलले मुख्य गरी बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निर्धारण पूरा हुने कुनै सम्भावना नरहेको निश्कर्ष पनि सुनाउनु भएको छ । यो संभावना छैन, पौडेलले भन्नुभयो ।