जनता टाइम्स

१६ जेष्ठ २०८०, मंगलवार १७:२५

त्यति कुरा पनि भन्न सक्नुहुन्न भने प्रधानमन्त्री भारत भ्रमणमा किन जाने ? : अध्यक्ष ओली


काठमाडौं, जेठ १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको मिचाहा प्रवृत्ति नेपाललाई स्वीकार्य नहुने प्रष्ट बटमलाइन सुनाउनु भएको छ ।

महिला अधिकार दिवसको अवसरमा अनेमसंघले आज आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो । उहाँले अहिले भारतको संसद् भवनमा नेपालको लुम्बिन क्षेत्र समेटिएको नक्सा राखिएको सुनिएको बताउँदै त्यो कुरा सह्यै नहुने प्रष्ट पार्नुभयो ।

‘लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद भवनमा काठमा कुँदेर संसदले राख्यो भनेपछि त्यो भन्दा सानो छिमेकीलाई, मैले देखेको छैन सुनेको छु, भारत सरकारले होइन, हटायो भने, होइन भन्यो भने, खण्डन गर्यो भने अर्थात हटायो भने वा गल्ती महसुस गर्यो भने त्यो आफ्नो ठाउँमा छ, तर नेपालको भूमि आफ्नो नक्सा भित्र हालेर संसद् जस्तो ठाउँमा भारत जस्तो एउटा पुरानो सुदृढ नमुना भनिएको ठाउँको लोकतन्त्रले यस्तो खालको व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन, स्वीकार गर्न सकिदैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा यो बिषयमा जिब्रो नचपाई कुरा गर्नुपर्ने र आपत्ति जनाएर सच्याउन लगाउनु पर्ने बताउनु भयो । ‘उहाँले त्यो नक्सा हटाउनुस, गल्ती सच्याउनुस भनेर भारतसँग कुरा गर्नुपर्छ, त्यति कुरा पनि भन्न सक्नु हुन्न प्रधानमन्त्री भने भारत भ्रमणमा किन जाने ?’ ओलीले प्रश्न गर्नुभयो ।

जसको लाठी उसको भैँसी भन्ने व्यवहार अहिले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भएका भन्दै उहाँले आलोचना गर्नुभयो । संयुक्त राष्ट्र संघ यस्ता कुरामा मौन रहनु चिन्ताको विषय रहेको ओलीले बताउनुभयो ।